Mount Maunganui स्थित बिचसाइड होलिडे पार्कमा गत साता गएको पहिरोमा परेर बेपत्ता भएका व्यक्तिमध्ये थप दुई जनाको शव पहिचान भएको छ। यससँगै यसअघि पहिचान भइसकेका तीन जनासहित हालसम्म पाँच जनाको शव औपचारिक रूपमा सनाखत भइसकेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शुक्रबार र शनिबार थप दुई जनाको शवको पहिचान भएको हो। पहिचान भएका मृतकमा अकल्याण्डकी १६ वर्षीया शेरोन म्याककानिको र रोटोरुवाकी ७१ वर्षीया सुजन डोरिन नोउल्स रहेका छन्। पहिचानपछि उनीहरूको पार्थिव शरीर परिवारलाई बुझाइसकिएको प्रहरीले जानकारी दिएको छ।
उक्त पहिरोमा कुल छ जना बेपत्ता भएका थिए। तीमध्ये हालसम्म पाँच जनाको शव पहिचान भइसकेको छ भने एक जनाको खोजी कार्य अझै जारी रहेको छ।
गत साता आएको भीषण वर्षापछि Mount Maunganui पहाडको फेदीमा रहेको बिचसाइड होलिडे पार्कमा पहिरो जाँदा क्याम्पिङ क्षेत्रमा ठूलो क्षति पुगेको थियो। घटनाले स्थानीय समुदायलाई गहिरो शोकमा डुबाएको छ।