नेपाली संगीतका चर्चित समूह नेपथ्यको न्युजिल्याण्ड कन्सर्ट आगामी १० मेमा आयोजना हुने भएको छ। आयोजक लाखे इभेन्ट्सका अनुसार कन्सर्टको मिति तय भइसकेको छ भने कार्यक्रम अकल्याण्डको मानुकाउस्थित Due Drop Events Centre मा आयोजना हुनेछ। आज अकल्याण्डमा आयोजित कन्सर्ट घोषण कार्यक्रममार्फत न्युजिल्याण्डका लागि मानार्थ नेपाली वाणिज्यदूत दिनेश खड्का र ग्रेश इन्टरनेशनल की न्युजिल्याण्ड निर्देशक मन्दिरा रिमालले औपचारिक रूपमा कार्यक्रमको मिति र स्थानको अनावरण गर्नु भएको हो।
विदेशी भूमिमा रहेका नेपाली दर्शक–स्रोतामाझ नेपथ्यका कन्सर्टहरू सधैं उत्साहपूर्ण रहने गरेका छन्। नेपाली लोक–रक संगीतलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउँदै आएको नेपथ्यको प्रस्तुति यसपटक पनि दर्शकका लागि विशेष हुने अपेक्षा गरिएको छ।
अमृत गुरुङको नेतृत्वमा नेपथ्यले सामाजिक सन्देश, मौलिक धुन र सशक्त प्रस्तुतीमार्फत ठूलो दर्शक आकर्षण गर्ने विश्वास आयोजकको छ। यस कन्सर्टमा नेपथ्यका चर्चित गीतहरू प्रत्यक्ष सुन्न पाइनेछ।
आयोजकले कन्सर्टसम्बन्धी टिकट बिक्री छिट्टै सार्वजनिक गरिने जनाएको छ।