संसदमा प्रधानमन्त्री सुशीला कार्कीको पहिलो सम्बोधन: ‘परिस्थितिले यहाँ पुर्‍यायो, रहरले होइन’ – New Zealand News Nepal (NZ News Nepal)

संसदमा प्रधानमन्त्री सुशीला कार्कीको पहिलो सम्बोधन: ‘परिस्थितिले यहाँ पुर्‍यायो, रहरले होइन’

   February 2, 2026  

संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभामा प्रधानमन्त्री सुशीला कार्की ले पहिलोपटक सम्बोधन गरेकी छिन्। सोमबारको बैठकमा बोल्दै उनले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि आफू प्रधानमन्त्री बनेको स्मरण गराउँदै, यो पदमा पुग्नु व्यक्तिगत चाहना नभई परिस्थितिको परिणाम भएको स्पष्ट पारिन्।

प्रधानमन्त्री कार्कीले संसद्मा पहिलोपटक बोल्ने अवसरलाई जीवनको एउटा दुर्लभ अनुभवका रूपमा व्याख्या गरिन्। “जीवनमा यस्तो मौका पनि आयो। परिस्थितिले ल्याएको हो—रहरले होइन। मैले खोजेर गएको पनि होइन,” भन्दै उनले अहिले पाएको अवसर फेरि नआउन सक्छ भन्ने अनुभूति व्यक्त गरिन्।

उनले सरकार छोडेर चुनावमा गएका पूर्वमन्त्रीहरूलाई दोष नलगाउन आग्रह गरिन्। आफूले ल्याउन चाहेका केही कानुन तत्काल बनाउन नसक्दा उनीहरू असन्तुष्ट भएर गएको बताउँदै, मन्त्री पद छोडेपछि कसैसँग सम्पर्क वा कुनै माग नराखेको पनि स्पष्ट पारिन्। “दोष लाउनुहुन्छ भने मलाई लगाउनुस्, उनीहरूलाई नलगाउनुस्,” उनको भनाइ थियो।

राष्ट्रिय सभामा उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री कार्कीले ती मन्त्रीहरूलाई सुरुमा नै आवश्यक परेमा छोड्न सक्ने गरी सरकारमा ल्याइएको बताइन्। सरकारमा बसेरै चुनाव लडेको भए मात्र बेइमानी ठहरिन्थ्यो भन्ने उनको तर्क थियो।

त्यतिबेला जेनजीको दबाबका कारण मन्त्री नियुक्ति गर्नुपरेको स्वीकार्दै उनले आन्दोलनकारी पक्षको मागअनुसार निर्णय गर्नुपर्ने अवस्था आएको पनि सुनाइन्। साथै, महावीर पुन चुनावमा जाने योजनामा नभए पनि केही कानुन अघि बढ्न नसक्दा असन्तुष्ट भएर बाहिरिएको उल्लेख गरिन्। “राम्रा कानुन थिए, तर तत्कालको अवस्थामा अघि बढाउन सकेनौँ,” उनले भनिन्।

प्रधानमन्त्री कार्कीको यो पहिलो सम्बोधनले सरकार गठनपछिको परिस्थितिजन्य निर्णय, आन्दोलनको दबाब र विधायनका चुनौतीबारे उनको स्पष्ट दृष्टिकोण प्रस्तुत गरेको छ।