सुरु भयो किवी फलको सिजन, टिप्न र प्याक गर्न २४ हजार कामदारको आवश्यकता, ७ हजार कामदार अपुग – New Zealand News Nepal (NZ News Nepal)

सुरु भयो किवी फलको सिजन, टिप्न र प्याक गर्न २४ हजार कामदारको आवश्यकता, ७ हजार कामदार अपुग

- प्याकहाउसमा कोरोनाको डर
   March 6, 2022  

आशिष भट्टराई

 

न्युजिल्याण्डको नर्थ आईल्याण्डको Bay of Plenty मा किवी फलको सिजन सुरु भएको छ । फेब्रुअरी अन्तिम साता बाट केही ठाउँमा किवी फल टिप्नको लागि तयार भएका छन् । न्युजिल्याण्डमा किवी फलबाट नै सर्बाधिक आम्दानी हुने गरेको छ । बिशेषगरि ८१ % फल Bay of Plenty मा फल्ने गर्दछ । न्युजिल्याण्डमा दर्ता भएका करिब ३ हजार  किवी बारी छन् । यि किवी बारी १२ हजार १८५ हेक्टरमा फैलिएको छ । किवी फलाउने देशमा न्युजिल्याण्ड विश्व मै तेस्रो नम्बरमा पर्छ । विश्व कै पहिलो नम्बरमा भने चीन छ जस्ले वर्षमा २० लाख ३५ हजार टन किवी उत्पादन गर्छ । त्यस्तै दोस्रोमा ईटाली छ जस्ले वार्षिक ५ लाख ६२ हजार टन किवी फलाउछ । न्युजिल्याण्डले भने वर्षमा ४ लाख १४ हजार टन किवी फलाउने गर्दछ ।  न्युजिल्याण्ड पछि सर्वाधिक किवी फलाउने देशमा ईरान, ग्रिस, चिली, टर्की , फ्रान्स, अमेरिका र पोर्तुगल छन् । विश्वभर फलाईने किवि ५० प्रकारका छन् तर न्युजिल्याण्डमा भने केही प्रकारका किवीको मात्र उत्पादन हुने गर्दछ जस्मा गोल्ड किवी, ग्रीन किवी, रेड किवी र बेरी किवी पर्दछ । फेब्रुअरीको अन्तिम साताबाट सुरु भएको किवी सिजन लगभग ४ महिना सम्म चल्ने छ । यस्मा किवी टिप्ने र प्याक गर्ने काम चल्दछ ।

किवी टिप्ने काम  जुनसम्ममा सकिने छ भने प्याकिङको सिजन  केही महिना चल्ने छ । मेन प्याकको सिजन जुलाई अन्तिम सम्म चल्ने छ भने, टिपेर स्टोर गरि राखेको किवीको प्याकिङ  अगस्त सम्म चल्ने छ । त्यस्तै प्याक गरेर राखिसकेको किवीलाई आवश्यकता अनुसार पुन:प्याक गरिन्छ । यो क्रम  नोभेम्बरसम्म जारी रहने छ ।

 

टिप्न र प्याक गर्न २४ हजार कामदारको आवश्यकता, ७ हजार कामदार अपुग

किवी सिजन सुरु भएसगैं किवी टिप्न र त्यस्लाई प्याक गर्नको लागि ठुलो मात्रामा कामदारको आवश्यकता पर्ने गर्दछ । २०२२ किवी सिजनको लागि २४ हजार कामदार चाहिने (New Zealand Kiwifruit Growers  Incorprate NZKGI) न्युजिल्याण्ड किवीफ्रुट्स ग्रोवर्स इनकर्पोरेटले जनाएको छ । यो वर्ष किवी सिजनको लागि पर्याप्त कामदार भने छैनन् । कोरोनाले गर्दा बन्द रहेको बोर्डरका कारण अघिल्लो वर्ष जस्तै यो वर्ष पनि न्युजिल्याण्डमा किवी सिजनका लागि कामदारको चरम अभाव छ । NZKGI का अनुसार यो वर्ष करिब ७ हजार कामदार अपुग छन् ।

कोरोना फैलिनु अगाडि किवी सिजनका लागि पर्याप्त कामदार हुने गरेको थियो तर २ वर्ष यता भने बोडर बन्दका कारण अन्तराष्ट्रिय विद्यार्थी पनि आउन नपाएको र बिभिन्न देशबाट आउने Recognized Seasonal Employer (RSE) पनि आउन नपाएकाले कामदारको आभाव भएको हो । बिशेष गरि यूरोपियन देशबाट पनि कामदारहरु किवी सिजन कै लागि न्युजिल्याण्ड आउने गर्दछन् । किवी टिप्न जती कामदारको आवश्यकता पर्छ त्यही हाराहारीमा त्यस्लाई प्याक गर्न मानिस चाहिन्छ । एउटा प्याकहाउसले एक सिजनको लागि करिव ६०० कर्मचारी भर्ती गर्नुपर्छ तर अहिले प्याक हाउसमा पनि कामदारको अभाव छ ।

 

प्याकहाउसमा कोरोनाको डर

कोरोनाको ओमिक्रोन भेरियन्ट अहिले न्युजिल्याण्डमा व्यापक रुपमा फैलिएको छ । २ लाख भन्दा बढी मानिसलाई कोरोनाको संक्रमण भईसकेको छ भने एक लाख ८० हजार जना सकृय संक्रमित छन् । ट्राफिक लाईट सिस्टम अन्तर्गत अहिले देशभर रेड लाइट लागु गरिएको छ । यस्तो अवस्थामा कोरोनाले गर्दा किवी सिजनलाई निकै प्रभावित पार्ने भएको छ।

सामाजिक दुरी लागि सिट व्यवस्थापना गर्दै ट्रेभेल्यन्स प्याकहाउस

 

बिशेष गरि किवी टिप्न भन्दा पनि प्याकिङ गर्ने प्याकहाउसमा यस्को प्रभाव देखिने भएको छ । सामाजिक दुरी, मास्कको प्रयोग लगायतमा कोरोनाका नियमलाई पालना गराउन प्याक हाउसलाई गाह्रो पर्ने छ । एक सिफ्टमा २ सय देखि ३ सय कर्मचारी काम गरिरहेको अवस्थामा यि नियमको पालना हुन समस्या हुने देखिएको छ । तर प्याकहाउसका तर्फबाट भने कोरोनाको संक्रमण हुन नदिन हर सम्भवको तयारी भईरहेको छ ।