डेनमार्कका राजारानी मार्चमा अष्ट्रेलिया आउने, न्युजील्याण्ड भ्रमणबारे निर्णय हुन बाँकी – New Zealand News Nepal (NZ News Nepal)

डेनमार्कका राजारानी मार्चमा अष्ट्रेलिया आउने, न्युजील्याण्ड भ्रमणबारे निर्णय हुन बाँकी

   February 5, 2026  

डेनमार्कका राजा फ्रेडरिक र रानी मेरी छिट्टै अष्ट्रेलियाको औपचारिक भ्रमणमा आउने भएका छन्। राजा फ्रेडरिक डेनमार्कको राजगद्दी सम्हालेपछि पहिलोपटक अष्ट्रेलिया भ्रमण गर्न लागेका हुन्। उनीहरूको यो भ्रमण छ दिन लामो रहनेछ।

आगामी मार्च १४ देखि १९ तारिखसम्म हुने भ्रमणका क्रममा राजदम्पतीले अष्ट्रेलियाका नर्दन टेरिटोरी, अस्ट्रेलियन क्यापिटल टेरिटोरी, भिक्टोरिया र तस्मानिया राज्यहरूको भ्रमण गर्ने कार्यक्रम तय भएको छ। भ्रमण अवधिभर विभिन्न व्यावसायिक, सांस्कृतिक तथा कूटनीतिक गतिविधिहरूमा उनीहरूको सहभागिता रहने जनाइएको छ।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज ले डेनमार्कका राजा र रानीलाई अष्ट्रेलियामा स्वागत गर्न पाउनु आफ्नो लागि सम्मानको विषय भएको बताएका छन्। उनले डेनमार्क र अष्ट्रेलिया घनिष्ठ मित्र राष्ट्र भएको उल्लेख गर्दै दुवै देश मिलेर दिगो, सुरक्षित र शान्त भविष्य निर्माणका लागि काम गरिरहेको बताए।

प्रधानमन्त्री अल्बानीजका अनुसार डेनमार्कका राजा र रानीको अष्ट्रेलियासँग विशेष सम्बन्ध रहेको छ। उनले अष्ट्रेलियाली नागरिकहरूले राजदम्पतीलाई न्यानो स्वागत गर्ने विश्वास व्यक्त गरेका छन्।

यो भ्रमणले डेनमार्क र अष्ट्रेलिया बीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। साथै, दुवै देशबीच व्यापार, संस्कृति र अन्तर्राष्ट्रिय सहकार्यका क्षेत्रमा नयाँ सम्भावनाहरू खुल्ने विश्वास लिइएको छ।

यसैबीच, डेनमार्कका राजा र रानी अष्ट्रेलिया भ्रमणपछि न्युजील्याण्ड पनि आउने सम्भावना रहेको बताइएको छ। तर हालसम्म न्युजील्याण्ड भ्रमणको कार्यक्रम औपचारिक रूपमा पुष्टि भइसकेको छैन। कूटनीतिक स्रोतहरूका अनुसार सम्भावित भ्रमणबारे छलफल जारी रहे पनि अन्तिम निर्णय आउन बाँकी छ।