वरिष्ठ अभिनेता सुनिल थापाको निधन – New Zealand News Nepal (NZ News Nepal)

वरिष्ठ अभिनेता सुनिल थापाको निधन

   February 7, 2026  

वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ। हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो। कलाकार संघका अध्यक्ष मोहन निरौलाले थापाको निधन भएको पुष्टि गर्दै नेपाली कला क्षेत्रले एक अनुभवी र प्रभावशाली कलाकार गुमाएको बताएका छन्।

शंखमूलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए। उनले अभिनय गरेका पात्रहरू दर्शकमाझ गहिरो छाप छोड्न सफल भए, विशेषगरी खलनायकको भूमिकालाई नायकसरह चर्चा र सम्मान दिलाउन उनी सफल मानिन्छन्।

नेपाली चलचित्रमा ‘राते काइँला’को नामले चर्चित थापाको अभिनय शैली, संवाद प्रस्तुति र व्यक्तित्वले उनलाई फरक पहिचान दिलाएको थियो। उनका योगदानले नेपाली सिनेमामा खलनायक पात्रलाई नयाँ उचाइमा पुर्‍याएको समीक्षकहरू बताउँछन्।

थापाका परिवारका अन्य सदस्यहरू भारतको मुम्बईमा बसोबास गर्दै आएका छन्। उनको निधनप्रति चलचित्रकर्मी, शुभेच्छुक र दर्शकहरूले गहिरो शोक व्यक्त गरेका छन्।