खेलकुद र सांस्कृतिक कार्यक्रममा न्युजील्याण्ड सरकारको थप ३० लाख डलर लगानी

197 Shares

न्युजील्याण्ड सरकारले देशभर आयोजना हुने प्रमुख खेलकुद, खानपान, संस्कृति तथा नवप्रवर्तनसम्बन्धी कार्यक्रमहरूका लागि थप ३० लाख डलर विनियोजन गरेको छ। यो रकम न्युजील्याण्ड सरकारले यस वर्ष बे अफ आइल्यान्ड्सदेखि टेकापोसम्म हुने विभिन्न ठूला कार्यक्रमहरूमा खर्च गर्ने जनाएको हो।

यो लगानी कुल ७ करोड डलर बराबरको मेजर इभेन्ट्स एन्ड टुरिज्म प्याकेज अन्तर्गतको पछिल्लो चरणको सहयोग हो। पर्यटन मन्त्री लुईस अप्स्टन ले सरकारले “असाधारण वर्षका लागि आधार तयार गरिरहेको” बताइन्।

सरकारको सहयोग पाउने कार्यक्रमहरूमा रोटोरुआ मा आयोजना हुने मातरिकी उत्सव, ओपुवामा हुने सोलो ट्रान्स–टास्मान याट च्यालेन्ज, अकल्याण्ड मा हुने डेफ इन्टरनेसनल बास्केटबल फेडेरेसन विश्व ३×३ कप, भिसा वेलिङ्टन अन अ प्लेट तथा बियरभाना रहेका छन्।

मन्त्री अप्स्टनका अनुसार यी कार्यक्रमहरूले क्षेत्रीय जीवन्तता बढाउनुका साथै समुदाय र व्यवसायलाई दीर्घकालीन फाइदा पुर्‍याउनेछन्। “यी कार्यक्रमहरूले मनोरञ्जन मात्र होइन, आर्थिक वृद्धि पनि चलायमान बनाउँछन्। होटल–आवास भरिन्छन्, रेष्टुरेन्टहरू फस्टाउँछन् र स्थानीय पसलहरूको कारोबार बढ्छ,” उनले भनिन्।

उनले पर्यटन न्युजील्याण्डको अर्थतन्त्रका लागि अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्ता लगानीले अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गर्न र देशको संस्कृति, खेलकुद तथा मनोरञ्जनको विश्वस्तरीय छवि सुदृढ गर्न मद्दत गर्ने बताइन्।

उक्त घोषणा मन्त्री अप्स्टनले वेलिङ्टन स्थित रेष्टुरेन्ट ग्लु ग्लु मा आयोजित कार्यक्रममा गरिन्, जहाँ भिसा वेलिङ्टन अन अ प्लेटबियरभाना ले प्राप्त गरेको सरकारी सहयोगको उत्सव मनाइँदै थियो।

भिसा वेलिङ्टन अन अ प्लेट लाई अन्तर्राष्ट्रिय सेफहरूसँग सहकार्य कार्यक्रम तथा प्रचार–प्रसारका लागि २ लाख डलर प्रदान गरिएको छ भने बियरभाना लाई अष्ट्रेलियामा महोत्सव प्रवर्द्धनका लागि ५० हजार डलर विनियोजन गरिएको छ।

सम्बन्धित समाचार

सबै