188
Shares
न्युजिल्याण्डले आइसिसी टी–२० विश्वकपमा सानदार सुरुवात गरेको छ। मंगलबार चेन्नईमा भएको खेलमा न्युजिल्याण्डले युएईलाई १० विकेटले हराएको हो। टस जितेर सुरुमा ब्याटिङ गरेको युएईले ६ विकेट गुमाउँदै १७४ रनको लक्ष्य दिएको थियो। प्रत्युत्तरमा न्युजिल्याण्डले बिना विकेटको क्षतिमा १५.२ ओभरमा जित निकालेको हो।
न्युजिल्याण्डको लागि टिम सेइफर्टले ८९ र फिन एलेनले ८४ रन बनाए। टिमले ४२ बलमा १२ चौका र ३ छक्का हिर्काउँदा फिनले ५० बलमा समान पाँच चौका र छक्का हिर्काए।
यसअघि युएईको लागि कप्तान मोहम्मद वासिमले सर्वाधिक ६६ रन बनाएका थिए। उनले ४५ बलमा चार चौका र ३ छक्का हिर्काएका हुन्। एलिशान सराफुले ४७ बलमा ५५ रन बनाएका थिए। उनले ५ चौका र २ छक्का हानेका हुन्। यस्तै, मयन्क कुमारले १३ बलमा २१ रन बनाएका थिए।