रामेछापको मन्थली नगरपालिका– ६, भलुवाजोरस्थित त्रिवेणी मन्दिरनजिक यात्रुबाहक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु र आठजना घाइते भएका छन्। मंगलबार बिहान करिब १०:३० बजे साँघुरो सडकमा बस तामाकोशी नदीमा खसेको हो। मृत्यु हुनेमध्ये रामेछापका आठजना छन्। मृतकमा लिखु तामाकोशी गाउँपालिका– ७, तिल्पुङका दम्पती भीमबहादुर तामाङ र जानुमाया तामाङ, उनका आफन्तहरू तथा बसधनी दीपेन्द्र बस्नेत रहेका छन्। अन्य मृतक दोलखा, सिन्धुली र ओखलढुंगाका हुन्।
दुर्घटनामा चारजनाको घटनास्थलमै र बाँकीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते आठजनामध्ये चालक सुशान्त थापामगरलाई सामान्य उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्य घाइतेलाई काठमाडौं रेफर गरिएको छ।
प्रहरीका अनुसार तीव्र गति र साँघुरो सडक दुर्घटनाको कारण हुन सक्ने आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ। मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै शव बुझ्न अस्वीकार गरेका छन्।


