न्युजील्याण्ड फर्स्ट पार्टीले यस वर्ष माओरी सिट सम्बन्धी जनमतसंग्रहको एजेन्डासहित चुनावी अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। पार्टीले माओरी सिटको भविष्यबारे अब स्पष्ट निर्णय गर्ने समय आएको जनाएको छ।
पार्टीले बिहीबार सार्वजनिक गरेको घोषणामा आगामी निर्वाचनपछि उक्त नीति कार्यान्वयन गर्ने “अवसर अहिले नै रहेको” दाबी गरेको छ। यही नीति यसले सन् २०१७ को निर्वाचनमा पनि अघि सारेको थियो।
यस विषयमा प्रतिक्रिया दिँदै टे पाटी माओरीले यसलाई जातीय भावना भड्काउने र आक्रोश उक्साउने प्रयास भएको आरोप लगाएको छ। त्यस्तै लेबर पार्टीले यो कदमलाई मत प्राप्तिका लागि गरिएको सस्तो प्रयासको संज्ञा दिएको छ।
पार्टीका नेता विन्स्टन पिटर्सले सन् १९८६ मा गठन भएको रोयल कमिसनले निर्वाचन प्रणालीबारे दिएको सुझाव स्मरण गर्दै एमएमपी (मिक्स्ड मेम्बर प्रपोर्शनल) प्रणालीले संसदलाई अझ प्रतिनिधिमूलक बनाउने र त्यस अवस्थामा माओरी सिटको प्रारम्भिक औचित्य समाप्त हुने उल्लेख गरिएको बताएका छन्।
उनले पछिल्ला वर्षहरूमा संसदमा माओरी समुदायको प्रतिनिधित्व उल्लेखनीय रूपमा बढेको पनि बताएका छन्। यस्तो अवस्थामा माओरी सिटको निरन्तरता आवश्यक छ वा छैन भन्ने विषयमा जनमतसंग्रहमार्फत निर्णय गरिनु उपयुक्त हुने उनको धारणा छ।
माओरी सिटबारे बहस पुनः चर्किँदै जाँदा आगामी निर्वाचनमा यो मुद्दा प्रमुख एजेन्डा बन्ने संकेत देखिएको छ। राजनीतिक दलहरूबीच आरोप–प्रत्यारोप बढिरहँदा मतदाताको धारणा के हुन्छ भन्ने विषय भने चुनावी परिणामले नै स्पष्ट पार्नेछ।