नर्थ आईल्याण्डमा वर्षाको कहर, यी क्षेत्रमा ‘आपतकाल’ घोषणा

199 Shares

न्युजिल्याण्डको नर्थ आईल्याण्डमा लगातारको भीषण वर्षापछि विभिन्न क्षेत्रमा बाढी, डुबान र पहिरोको जोखिम बढेको छ। विशेषगरी Ōtorohanga (वाइकाटो)मा स्थानीय स्तरको आपतकाल घोषणा गरिएको छ।

शनिबार राति १२:५७ बजे आपतकाल घोषणा गरिएको हो, जुन सात दिनसम्म लागू रहनेछ। स्थानीय प्रशासनका अनुसार जिल्लाभरि व्यापक बाढी, पहिरो र जलमग्न अवस्था सिर्जना भएको छ। आवश्यक परेमा बासिन्दालाई सुरक्षित स्थानमा सार्ने तयारी गरिएको जनाइएको छ।

MetServiceले नर्थ आईल्याण्डका धेरै क्षेत्रमा भारी वर्षाको चेतावनी जारी राखेको छ। Coromandel, Bay of Plenty र Gisborne/Tairāwhitiका लागि भारी वर्षा चेतावनी जारी गरिएको छ। विशेषगरी Gisborne/Tairāwhiti क्षेत्रमा निरन्तर मुसलधारे वर्षा हुने अनुमान गरिएको छ।

त्यसैगरी Northland, Auckland, Waikato र Hawke’s Bayमा भारी वर्षाको चेतावनी कायम छ।

भीषण वर्षाका कारण धेरै सडकहरू अवरुद्ध भएका छन् भने केही स्थानमा विद्युत् सेवा समेत प्रभावित भएको छ। स्थानीय निकायले सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न, बाढीको पानीमा प्रवेश नगर्न र आधिकारिक सूचनाको पालना गर्न आग्रह गरेका छन्।

अधिकारीहरूका अनुसार मौसममा तत्काल सुधार आउने संकेत नदेखिएकाले दिनभरि वर्षा जारी रहने सम्भावना छ।

सम्बन्धित समाचार

सबै