न्युजिल्याण्डको रिजर्भ बैंककी गभर्नर आना ब्रेमनले व्यवसायीहरूलाई मूल्य वृद्धि सीधै उपभोक्तामाथि थोपर्ने प्रयास नगर्न चेतावनी दिएकी छन्। उनले हाल आर्थिक पूर्वानुमानकर्ताहरू र व्यवसायिक क्षेत्रबीच मुद्रास्फीति सम्बन्धी अपेक्षा बढ्दै गएकोप्रति असन्तुष्टि व्यक्त गरिन्।
शुक्रबार Business Canterbury मा आयोजित कार्यक्रममा बोल्दै उनले कम्पनीहरूले ठूलो मूल्य वृद्धि लागू गर्न खोज्दा कठिन अवस्था सामना गर्नुपर्ने बताइन्। “हाम्रो बुझाइमा तलब वृद्धिदर अझै सुस्त छ, रोजगारी बजार सुधारतर्फ जाँदैछ तर उपभोक्ताले त्यसको स्पष्ट प्रभाव देख्न चाहन्छन्। यस्तो अवस्थामा कम्पनीहरूका लागि ठूलो मूल्य वृद्धि उपभोक्तामाथि सार्न निकै कठिन हुनेछ,” उनले भनिन्।
ब्रेमनका अनुसार धेरै घरपरिवार अझै पनि महँगीको चाप र कमजोर रोजगारी अवस्थासँग जुधिरहेका छन्। यदि मूल्यहरू थप बढाइएमा उपभोक्ताको खर्च गर्ने क्षमता झन् घट्ने र समग्र आर्थिक गतिविधिमा असर पर्ने सम्भावना रहेको उनले औंल्याइन्।
यसैबीच उनले भू–राजनीतिक तनावदेखि AI को विकाससम्मका कारण बजारमा उतार–चढाव आउन सक्ने र त्यसले मुद्रास्फीतिमा अप्रत्याशित प्रभाव पार्न सक्ने चेतावनी दिइन्। मौद्रिक नीति समिति यस्ता जोखिमप्रति सजग र उत्तरदायी रहने तर छोटो अवधिको उतार–चढावमा अत्यधिक प्रतिक्रिया नजनाउने उनले स्पष्ट पारिन्।