नेपथ्य अकल्याण्ड कन्सर्ट: इतिहास बनाउने तयारीमा लाखे ईभेन्ट्स

332 Shares

अकल्याण्डमा नेपाली सांगीतिक माहोल तातिन थालेको छ। नेपालकै चर्चित ब्यान्ड नेपथ्यको कन्सर्ट घोषणा भएसँगै दर्शकहरूमा ठूलो उत्साह देखिएको छ। नेपालमा मात्र होइन, विश्वभर नेपाली दर्शकमाझ अत्यन्त लोकप्रिय ब्यान्ड भएकाले ठूलो संख्यामा उपस्थितिको आँकलन गरिएको छ। त्यसैकारणले आयोजकले दर्शकको सम्भावित चापलाई ध्यानमा राख्दै कन्सर्ट स्थल छनोट गरेको छ । नेपथ्यको कन्सर्ट अकल्याण्डको ड्युड्रप ईभेन्ट सेन्टरमा हुदै छ । हालसम्म टिकट बुकिङ खुलिसकेको छैन, तर टिकट खुल्नासाथ बढी भन्दा बढी टिकट बुकिङ हुने अपेक्षा गरिएको छ। सम्भवत: यो कार्यक्रम न्युजिल्याण्डमा आयोजना भएका नेपाली कार्यक्रमहरूमध्ये सबैभन्दा धेरै दर्शक उपस्थित हुने शो बन्न सक्नेछ । टिकट ‘सोल्ड आउट’ हुने अनुमानसमेत गरिएको छ।

त्यसो त न्युजिल्याण्डमा नेपाली सांगीतिक कार्यक्रमहरू भइरहेकै हुन्छन्, तर नेपथ्यको जस्तो मज्जा अरूमा नहुने संगीतप्रेमीहरू बताउँछन्। यसअघि सन् २०१७ मा अकल्याण्डमा नेपथ्यले आफ्नो प्रस्तुति दिएको थियो। सो समयमा पनि उल्लेख्य रूपमा दर्शकको उपस्थिति रहेको थियो।

नेपथ्यका गीत नसुन्ने सायद नै कोही नेपाली होलान्। ‘रेशमदेखि भेडाको ऊन जस्तो’, ‘जोमसोमै बजारमा’, ‘तालको पानी’, ‘उडायो रेलैले’, ‘जोगाले हुन्छ भेट’, ‘छेक्यो छेक्यो’, ‘चरी मर्‍यो सिसैको गोलीले’, ‘यानी माया’, ‘यो जिन्दगानी’ जस्ता गीतहरू नेपाली जनजीवनसँग गहिरोसँग गाँसिएका छन्।

यी गीतहरू केवल सुन्ने मात्रै होइन, हरेक नेपालीको मुखमा झुण्डिएको, मनमा बसेको र भावनामा बगेको संगीत बनेका छन्। गाउँदेखि सहरसम्म, देशभित्रदेखि विदेशसम्म जहाँ नेपाली छन्, त्यहाँ नेपथ्यका गीतहरू गुन्जिने गरेका छन्।

यिनै कालजयी गीतहरूमा झुम्नका लागि अकल्याण्डमा हुन लागेको नेपथ्यको कन्सर्टमा नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ। लामो समयपछि प्रत्यक्ष रूपमा यी लोकप्रिय गीतहरू सुन्न र गाउन पाउने अवसर भएकाले यस कन्सर्टलाई धेरैले छुटाउनै नहुने र जीवनभर नबिर्सिने क्षणका रूपमा लिएका छन्।

यसअघि पनि न्युजिल्याण्डमा थुप्रै चर्चित नेपाली कलाकारले लाखे ईभेन्ट्सको आयोजनमा सफल प्रस्तुति दिइसकेका छन्। सविन राई, विपुल क्षेत्री, एज ब्यान्ड, प्रमोद खरेल, मेलिना राई, कालीप्रसाद बाँस्कोटा, शान्ति श्री परियार, सज्जनराज वैद्य, साईग्रेस पोखरेल, आशिष राना (लाउरे), सुदिन पोखरेल, विवेक, याबेश, प्रकाश सपुत, भरतमणि पौडेल र सुमन कार्की लगायतका कलाकारका कार्यक्रमहरू अत्यन्त सफल भएका थिए।

अब नेपथ्यको आगमनसँगै अकल्याण्डमा मात्र नभएर पुरै न्युजिल्याण्डभर पुनः नेपाली संगीतको लहर चल्ने अपेक्षा गरिएको छ। नेपाली समुदायका लागि यो कन्सर्ट विशेष आकर्षणको केन्द्र बन्ने देखिएको छ। ।

सम्बन्धित समाचार

सबै