नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले आफ्नो उपचारका लागि आवश्यक आर्थिक सहयोग जुटिसकेको जानकारी दिएकी छन्। उनले सामाजिक सञ्जालमार्फत उपचारका लागि आवश्यक सम्पूर्ण खर्च प्राप्त भइसकेको बताउँदै सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेकी छन्।
साम्बाका अनुसार नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ भने अन्तर्राष्ट्रिय प्लेटफर्ममार्फत ५२ हजार न्यूजिल्याण्ड डलर संकलन भएको छ। उक्त रकम कतारमा गरिने शल्यक्रिया, उपचार अवधिको बसोबास तथा यातायात खर्चका लागि पर्याप्त हुने भएकाले अब थप आर्थिक सहयोग नगर्न उनले अनुरोध गरेकी छन्।
यसअघि उनले आफ्नो उपचारका लागि करिब ८० हजार अमेरिकी डलर आवश्यक पर्ने भन्दै सोमबार सामाजिक सञ्जालमार्फत आर्थिक सहयोगको अपिल गरेकी थिइन्। अपिलपछि देश तथा विदेशमा रहेका नेपाली र फुटबल समर्थकबाट व्यापक सहयोग प्राप्त भएको थियो।
साम्बाको घुँडाको एसीएलमा यसअघि गरिएको शल्यक्रियाबाट राखिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट देखिएकाले पुनः जटिल शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन्। उनी हाल उपचारको तयारीमा रहेकी छन्।