न्युजिल्याण्ड सरकारले सडक सुरक्षालाई थप मजबुत बनाउन केही महत्त्वपूर्ण सडक नियम परिवर्तन गर्ने प्रस्ताव अघि सारेको छ। यातायात मन्त्री क्रिस बिशपका अनुसार यी प्रस्तावित नियमहरू बालबालिका, साइकल चालक, सार्वजनिक यातायात र अन्य सडक प्रयोगकर्ताको सुरक्षालाई ध्यानमा राखेर तयार गरिएको हो।
प्रस्ताव अनुसार पहिलो चरणमा अब १२ वर्षसम्मका बालबालिकाले फुटपाथमा साइकल चलाउन पाउने व्यवस्था गरिनेछ। यसले साना उमेरका साइकल चालकलाई सवारीसाधनको भीडबाट टाढा राख्दै सुरक्षित बनाउने विश्वास गरिएको छ। साथै, सवारी चालकले साइकललाई ओभरटेक गर्दा गति सीमाका आधारमा कम्तीमा १ मिटरदेखि १.५ मिटरसम्मको अनिवार्य दूरी कायम गर्नुपर्ने नियम लागू गरिने प्रस्ताव छ।
त्यसैगरी, ई–स्कुटर प्रयोगकर्तालाई साइकल लेन प्रयोग गर्न अनुमति दिइनेछ। यसले सडकमा हुने जोखिम घटाउने र वैकल्पिक यातायातलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ। अर्को प्रस्ताव अनुसार ६० किलोमिटर प्रतिघण्टाभन्दा कम गतिमा यात्रा गरिरहेका सवारी चालकले बस स्टपबाट निस्कन खोजिरहेका बसलाई प्राथमिकता दिनुपर्ने हुनेछ।
यसका अतिरिक्त, स्थानीय काउन्सिलहरूले सडक किनार पार्किङलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सक्ने गरी साइनबोर्ड सम्बन्धी नियमहरू पनि स्पष्ट पारिने प्रस्ताव गरिएको छ। सरकारले यी परिवर्तनहरू लागू भएपछि सडक सुरक्षा र यातायात व्यवस्थापनमा सकारात्मक सुधार आउने अपेक्षा गरेको छ।


