सेमिफाइनल पुगिसकेको इंग्ल्यान्डसँग आज राति भिड्दै न्युजिल्याण्ड, जित्नै पर्ने दबाब – New Zealand News Nepal (NZ News Nepal)

सेमिफाइनल पुगिसकेको इंग्ल्यान्डसँग आज राति भिड्दै न्युजिल्याण्ड, जित्नै पर्ने दबाब

   February 27, 2026  

आईसीसी टी–२० विश्वकपको सुपर–८ अन्तर्गत आज समूह ‘दुई’मा इंग्ल्यान्ड र न्युजिल्याण्ड प्रतिस्पर्धा गर्दैछन्। श्रीलंकाको कोलम्बोमा हुने उक्त खेल न्युजील्याण समय अनुसार आज राति २:३० मा सुरु हुनेछ । सुपर–८ बाट इंग्ल्यान्ड एक खेलअघि नै सेमिफाइनल प्रवेश गरिसकेको अवस्थामा न्युजिल्याण्डका लागि भने आजको खेल निर्णायक बनेको छ।

समूह ‘दुई’मा इंग्ल्यान्डले लगातार दुई खेल जित्दै ४ अंकसहित शीर्ष स्थान सुरक्षित गरिसकेको छ भने न्युजिल्याण्डले एक जित र एक बराबरीबाट ३ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ। आजको खेलमा न्युजिल्याण्ड विजयी भए इंग्ल्यान्डसँगै सेमिफाइनल पुग्नेछ। तर पराजित भए न्युजिल्याण्डले अर्को खेलको नतिजा कुर्नुपर्ने अवस्था आउनेछ, जसले उसमाथि थप दबाब सिर्जना गरेको छ।

यस समूहबाट श्रीलंका भने लगातार दुई खेलमा पराजित भएपछि सेमिफाइनल दौडबाट बाहिरिसकेको छ। पाकिस्तानको १ अंक रहेकोले उसको सम्भावना अझै जीवित भए पनि अन्तिम खेलको नतिजामा निर्भर रहनेछ। त्यसैले आजको इंग्ल्यान्ड–न्युजिल्याण्ड भिडन्तलाई समूह ‘दुई’को सबैभन्दा महत्वपूर्ण खेलका रूपमा हेरिएको छ।

यता, सुपर–८ को समूह ‘एक’बाट सेमिफाइनल पुग्ने टोलीको टुंगो पनि लाग्न बाँकी छ। दक्षिण अफ्रिका ४ अंकसहित अग्रस्थानमा रहँदा भारत र वेस्ट इन्डिजको समान २–२ अंक छ। यी दुईबीच हुने अन्तिम खेल निर्णायक हुनेछ, जहाँ पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ भने विजेता टोली सेमिफाइनलमा स्थान बनाउनेछ।