नेपालमा ५ दिनपछि निर्वाचन, तयारी अन्तिम चरणमा – New Zealand News Nepal (NZ News Nepal)

नेपालमा ५ दिनपछि निर्वाचन, तयारी अन्तिम चरणमा

   February 28, 2026  

नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन हुन अब मात्र पाँच दिन बाँकी रहँदा निर्वाचन आयोगले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन फागुन २१ गते हुने तय भएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतपत्र, मतपेटिका तथा अन्य आवश्यक निर्वाचन सामग्री सबै जिल्लामा पुगिसकेको जानकारी दिएका छन्।

आयोगका अनुसार मतदाता शिक्षा कार्यक्रम पनि तीव्र रूपमा सञ्चालन भइरहेको छ। देशभरका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा स्वयंसेवक परिचालन गरी मतदातालाई मतदान प्रक्रिया र अधिकारबारे जानकारी दिने कार्य जारी छ। मतदान केन्द्रमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरू सम्बन्धित केन्द्रतर्फ प्रस्थान गर्न थालेका छन्। साथै विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालयलगायतका भौतिक संरचना मतदान केन्द्रका रूपमा प्रयोग गर्न नेपाल सरकार र स्थानीय तहसँग समन्वय भइसकेको आयोगले जनाएको छ।

निर्वाचनको सुरक्षा व्यवस्था, अत्यावश्यक सेवाको सञ्चालन, मतदान प्रक्रियाको व्यवस्थापन तथा समन्वय सम्बन्धी आवश्यक निर्णयहरू आयोगले गरिसकेको छ। निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि केन्द्रीय तथा जिल्ला स्तरका अनुगमन समिति, सुरक्षा निकाय र निर्वाचन अधिकृतका कार्यालयहरू सक्रिय रहेको आयोगले जनाएको छ। हालसम्म प्राप्त २५४ उजुरीमध्ये ८८ मा स्पष्टीकरण सोधिएको र ५७ को जवाफ प्राप्त भइसकेको छ।

आचारसंहिता उल्लङ्घनका घटनामा आयोगले कारबाही पनि सुरु गरेको छ। जाजरकोट क्षेत्र नम्बर १ का उम्मेदवार शक्ति बहादुर बस्नेत, रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार डा. कमल भुसाल (निकोलस भुसाल) तथा सम्बन्धित दललाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको ठहर गर्दै जनही २५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको आयोगले जनाएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित बनाउन आयोगले सबै सरोकारवालासँग सहयोगको अपिल गरेको छ।