इजरायल र अमेरिकाले संयुक्त रुपमा हमला गरेसँगै इरानले पनि प्रत्याक्रमणलाई जारी राखेको छ । जवाफी हमलामा इरानले इजरायल, यूएई, बरहाइन, कुवेत र कतारजस्ता मुलुकलाई निशाना बनाएको छ ।
ती मुलुकका विभिन्न स्थानमा विस्फोटको आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यसैबीच साउदी अरबको राजधानी रियादमा पनि विस्फोट भएको खबर प्राप्त भएको छ । एएफपी समाचार एजेन्सीका अनुसार रियादमा ठूलो विस्फोटको आवाज सुनिएको छ । अमेरिकाको निकट सैन्य साझेदार मानिने साउदी अरबमा हाल उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
क्षेत्रीय तनाव चुलिएका बेला खाडी क्षेत्रका विभिन्न मुलुकले आफ्नो हवाई क्षेत्र बन्द गरेका छन् ।
इरानले कतारमा पनि आक्रमण गरेको छ। कतारको दोहास्थित अमेरिकी हवाई सेनाको अल उदैद सैन्य अड्डालाई लक्ष्य गरेर शनिबार दिउँसो इरानले मिसाइल हानेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
दोहामा विस्फोटका आवाजहरू सुनिएको भनेर अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले लेखेको छ।
कतारको हवाई प्रतिरक्षा प्रणालीले इरानी मिसाइल नस्ट गरेको जनाइएको छ। कतारको हवाई अड्डा अमेरिकाको मध्यपूर्वमा रहेकोमध्ये सबैभन्दा ठूलो सैन्य अड्डा हो।
गत जुन महिनामा अमेरिकाले इरानमा हमला गर्दा पनि इरानले कतारमा रहेको सोही सैन्य अड्डालाई लक्ष्य गरेर मिसाइल हानेको थियो।
कतारी रक्षा मन्त्रालयले शनिबारको आक्रमणलाई सफलतापूर्वक रोकेको जनाएको छ।
अमेरिका र इसराइलले शनिबार बिहान इरानमा आक्रमण गरेपछि इरानले जबाफस्वरूप इसराइल र मध्यपूर्वका विभिन्न देशहरूमा आक्रमण गरेको छ।
इरानले यसअघि नै अमेरिकाले हमला गरे त्यसको प्रत्युत्तरमा मध्यपूर्वमा रहेको अमेरिकी सैन्य अड्डा निशानामा पर्ने चेतावनी दिएको थियो।
इरानले कतारसँगै, युएई, बहराइन र जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डालाई लक्ष्य गरेर हवाई आक्रमण गरेको छ।
यसले मध्यपूर्वमा क्षेत्रीय तनाव उत्पन्न गराएको छ।
मध्यपूर्वका सबैजस्ता देशहरूले आफ्नो हवाई क्षेत्र बन्द गरिसकेका छन्।
मध्यपूर्व हुँदै उड्ने विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सहरूले उडान रद्द गरेका छन्।
अधिकांश देशहरूले मध्यपूर्वमा रहेका आफ्ना नागरिकहरूलाई सुरक्षित बस्न भनेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि विशेष सैन्य अपरेसन थालिएको बताएका छन्।
इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानमा नेतृत्व परिवर्तन हुने दाबी गरेका छन्।
ट्रम्पले पनि इरानमा जनताको हातमा शासनसत्ताको नियन्त्रण आउन सक्ने अवस्था सिर्जना हुने बताएका छन्।


