न्युजिल्याण्डले खुलेरै लियो अमेरिका र ईजरायलको पक्ष, इरानको निन्दा (वक्तव्य सहित) – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डले खुलेरै लियो अमेरिका र ईजरायलको पक्ष, इरानको निन्दा (वक्तव्य सहित)

   March 1, 2026  

न्युजिल्याण्डले मध्यपूर्वमा बढ्दै गएको तनावप्रति कडा प्रतिक्रिया व्यक्त गर्दै अमेरिका र इजरायलको कदमलाई समर्थन जनाएको छ। प्रधानमन्त्री क्रिस्टोफर लक्सन र परराष्ट्रमन्त्री विन्स्टन पिटर्स द्वारा जारी संयुक्त वक्तव्य अनुसार इरानले दशकौँदेखि अन्तर्राष्ट्रिय समुदायको इच्छा र अपेक्षाको अवज्ञा गर्दै आएको र आफ्नो जनता पक्षमा नरहेको अवस्थामा सरकारको वैधता गुमाइसकेको उल्लेख गरेको छ ।

प्रधानमन्त्री लक्सन र परराष्ट्रमन्त्री पिटर्सले गए राति अमेरिका र इजरायलले इरानविरुद्ध उठाएका कदमलाई ‘अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम राख्ने उद्देश्य’ को रूपमा व्याख्या गरेका छन्। यसै सन्दर्भमा, इरानले कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, कुवेत, बहराइन र जोर्डनमाथि गरेको अन्धाधुन्ध प्रतिकारात्मक आक्रमणको न्युजिल्याण्डले कडा शब्दमा निन्दा गरेको छ।

न्युजिल्याण्डले अन्तर्राष्ट्रिय समुदायसँगै यो संकट छिटो अन्त्य होस् भन्ने आशा व्यक्त गर्दै इरानी नेतृत्वलाई वार्ता पुनः सुरु गरी अन्तर्राष्ट्रिय कानूनको पालना गर्न र इरानलाई पुनः विश्व समुदायसँग जोड्ने समाधान खोज्न आग्रह गरेको छ।

प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले मध्यपूर्वमा रहेका न्युजिल्याण्डका परिवारजन र द्वन्द्वबाट प्रभावित सबैप्रति सहानुभूति व्यक्त गर्दै पछिल्ला हप्ताहरूमा सडकमा परिवर्तनको माग गर्दै उत्रिएका इरानी नागरिकको साहसको प्रशंसा गरेका छन्।

यसैबीच, न्युजिल्याण्डका दूतावासहरूले परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेका छन्। Ministry of Foreign Affairs and Trade ले नागरिकलाई सुरक्षित स्थानमा बस्न, स्थानीय प्रशासनको निर्देशन पालना गर्न र SafeTravel मा दर्ता गर्न आग्रह गरेको छ। आपतकालीन कन्सुलर सहयोग आवश्यक परे २४/७ उपलब्ध हेल्पलाइन +64 99 20 20 20 मा सम्पर्क गर्न सकिने जनाइएको छ।