न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्न “जुनसुकै कदम” लाई न्युजिल्याण्डले समर्थन गर्ने भनी दिएको अभिव्यक्तिमा आफूले “गलत शब्द प्रयोग” गरेको स्वीकार गरेका छन्। सोमबार क्याबिनेटपछिको पत्रकार सम्मेलनमा उनले विगतका सरकारले इरानले आणविक हतियार नपाओस्, आतंकवादलाई समर्थन नगरोस् र आफ्नै नागरिकमाथि दमन नगरोस् भन्ने दीर्घकालीन अडान लिँदै आएको बताएका थिए।
तर मंगलबार उनले आफ्नो भनाइ सच्याउँदै न्युजिल्याण्डले इरानलाई “आणविक हतियार हात पार्नबाट रोक्ने कदमहरू” र आतंकवाद तथा दमन रोक्ने प्रयासलाई समर्थन गर्दै आएको स्पष्ट पारे। “तर यसको अर्थ ‘जुनसुकै कदम’ होइन,” उनले भने, “कुनै पनि मूल्यमा गरिने कार्य होइन।” इरानमाथि ‘कार्पेट बम्बिङ’ जस्ता उदाहरण उठाइएपछि उनले “त्यो त हामी कदापि देख्न चाहँदैनौं” भनेर स्पष्ट पारे। बारम्बार ‘any action’ दोहोरिएकोबारे सोध्दा उनले “मैले गलत बोलेँ” भन्दै क्षमायाचना गरेका थिए।
लेबर पार्टीका नेता क्रिस हिप्किन्सले प्रधानमन्त्रीले आफ्नो त्रुटि स्वीकार्नु सकारात्मक भएको प्रतिक्रिया दिएका छन्। “शब्दको महत्व हुन्छ – विशेषगरी यस्ता संवेदनशील विषयमा,” उनले भने। अन्तर्राष्ट्रिय कानुनको पालना “विवेकाधीन विषय होइन, सबै देशले अनिवार्य रूपमा पालना गर्नुपर्ने मान्यता” हुनुपर्ने उनको धारणा थियो।