भारत र न्यूजिल्याण्डबीच भएको विश्वकप फाइनल खेलमा न्यूजिल्याण्डका खेलाडी जिमी निशमले तीन विकेट लिएपछि नेपाल प्रिमियर लिग (एनपिएल) टोली पोखरा एभेन्जर्सले सामाजिक सञ्जालमार्फत उनलाई बधाइ दिएको थियो। पोखरा एभेन्जर्सले फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै निशमको प्रशंसा गर्दै गत मंसिरमा भएको एनपिएलको दोस्रो संस्करणमा उनी आफ्नो टोलीबाट खेलेको विषयलाई गर्वको कुरा भएको उल्लेख गरेको थियो।
तर उक्त पोस्टमा प्रतिक्रिया दिँदै निशमले भने आफूले अझै पनि पोखराबाट पारिश्रमिक नपाएको संकेत गरेका छन्। उनले कमेन्ट गर्दै छोटकरीमा लेखेका छन्, “कुल, आफ्ना खेलाडीलाई पारिश्रमिक देऊ।” निशमको यो प्रतिक्रियाले सामाजिक सञ्जालमा पनि चर्चा पाएको छ।
निशमको यस्तो टिप्पणी सार्वजनिक भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले पनि विषयमा चासो व्यक्त गरेको छ। क्यानले पोखरा एभेन्जर्सको व्यवस्थापनसँग यस विषयमा जानकारी लिएको बताइएको छ।
पोखरा एभेन्जर्सका मुख्य लगानीकर्तामध्येका एक सुबोध त्रिपाठीले भने खेलाडीको पारिश्रमिक दिन आफूहरू तयार रहेको तर नेपालको प्रशासनिक प्रक्रियाका कारण ढिलाइ भएको बताएका छन्। उनका अनुसार सुरुमा राष्ट्र बैंकको अनुमति आवश्यक नपर्ने भनिए पनि कारोबार गर्ने बैंकले अनुमति चाहिने बताएपछि प्रक्रिया जटिल बनेको हो।
त्रिपाठीका अनुसार त्यसपछि टोलीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा अनुमति लिन प्रयास गरेको थियो। तर मुद्दासम्बन्धी विषय र बीचमा परेको निर्वाचनका कारण कार्यालय बन्द हुँदा प्रक्रिया थप ढिलो भएको उनले बताएका छन्। उनले अहिले पनि पारिश्रमिक भुक्तानी गर्ने प्रक्रिया जारी रहेको जानकारी दिएका छन्।


