न्युजिल्याण्ड आइपुगिन् भारतकी नयाँ High Commissioner सियावी – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्ड आइपुगिन् भारतकी नयाँ High Commissioner सियावी

   March 23, 2026  

भारत सरकारद्वारा न्युजिल्याण्डका लागि नियुक्त उच्चायुक्त (High Commissioner)) मुआनपुई सियावी आज राजधानी वेलिङ्टन आइपुगेकी छन्। आगमनसँगै उनले महात्मा गान्धीको सालिकमा पुष्पाञ्जली अर्पण गर्दै शान्ति, न्याय र मानवताका सन्देशले विश्वलाई मार्गदर्शन गरिरहेको उल्लेख गरिन्।

सन् २००५ ब्याचकी भारतीय विदेश सेवा (IFS) अधिकृत सियावी यसअघि नयाँ दिल्लीस्थित विदेश मन्त्रालयमा संयुक्त सचिवका रूपमा कार्यरत थिइन्। आफ्नो कूटनीतिक करिअरका क्रममा उनले दक्षिण कोरियामा प्रथम सचिव (राजनीतिक), जापानमा प्रथम सचिव (सूचना, शिक्षा तथा संस्कृति) तथा इजरायलमा काउन्सेलर (प्रेस, सूचना, संस्कृति तथा पर्यटन) का रूपमा महत्वपूर्ण जिम्मेवारी सम्हालेकी छन्।

यसका अतिरिक्त, उनले विदेश मन्त्रालयमा साइबर कूटनीति तथा नयाँ र उदीयमान रणनीतिक प्रविधिसम्बन्धी विषयमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरिसकेकी छन्। हालसम्म उनी निःशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा मामिला हेर्ने संयुक्त सचिवका रूपमा कार्यरत रहँदै आएकी थिइन्।

उत्कृष्ट प्रशिक्षार्थी अधिकृतका रूपमा सियावीले ‘एम्बासडर बिमल सान्याल स्मृति स्वर्ण पदक’ तथा उत्कृष्ट शोधप्रबन्धका लागि रजत पदक प्राप्त गरेकी थिइन्। साथै, उनी आफ्नो ब्याचकै उत्कृष्ट प्रोबेशनरका रूपमा समेत सम्मानित भएकी थिइन्।

मिजोरम की सियावीले सन् २०२२ देखि न्युजिल्याण्डमा कार्यरत उच्चायुक्त नीता भुषण को स्थान लिनेछिन्। नयाँ नेतृत्वसँगै भारत–न्युजिल्याण्ड सम्बन्ध अझ सशक्त, घनिष्ठ र व्यापक बन्ने अपेक्षा गरिएको छ।