किवी टिपेर घण्टाको ६० डलर ??? यस्तो छ वास्तविकता – New Zealand News Nepal (NZ News Nepal)

किवी टिपेर घण्टाको ६० डलर ??? यस्तो छ वास्तविकता

   April 7, 2022  

केही दिन अगाडि एउटा समाचारले बजार ततायो । बिशेषगरि न्युजिल्याण्डमा बसोबास गर्ने नेपाली र भारतीय मात्र होइन यहिको मान्छेलाई नि त्यो समाचारले चकित बनायो । समाचार थियो, ‘ किवी टिप्न घण्टाको ६० डलर दिईने’ । न्युजिल्याण्डको चर्चित अन्लाईन स्टफमा प्रकाशित भएको उक्त समाचार चारै तिर फैलियो । धेरैले त्यो समाचारलाई पत्याएनन् र हावामा उडाए , कतीले भने होकी भएर साथीभाइ सँग यस बारेका कुरा समेत गरे । तर के यो कुरा सत्य हो त ?  त्यो बेला यो कुरा लाई पुष्टी गर्ने कुनै आधार नभएकाले हामीले समाचार बनाएनौ । तर त्यही समाचार प्रकाशित गर्ने अन्लाईनले यो कुराको वास्तविकता बाहिर ल्याएको छ । मकेतु बस्ने एक ५२ वर्षिय महिलाको अन्तर्वाता प्रकाशन गर्दै सो महिलाले किवी टिपेरै घण्टाको ६० डलर सम्म बनाएको कुरा स्टफ अन्लाइनले दाबी गरेको छ ।

५२ वर्षिय ट्रिस टाउनसेन्ड सँगस्टफले यसबारेमा जिज्ञासा राख्दा उनले आफुले ४ वर्ष देखि किवी टिप्ने गरेको र हिजो मात्र घण्टाको ६० डलर कमाएको बताएकी छिन् । उनले आउने ईस्टरको बिदामा घण्टाको ९० डलरसम्म कमाउने योजना रहेको पनि सुनाईन। उनले भनिन् , ‘ यदी तपाईंको टिम राम्रो छ भने घण्टा ६० डलर वा कनट्राक्टमा त्यो भन्दा बढी कमाउन सक्नुहुन्छ ‘ । उनले आफु एक्लैले पनि राम्रो कमाइ गर्न सक्ने बताईन् । ४ वर्ष देखि किवी टिपेकी ट्रिसले आफु एक्लैले २० मिनेटमा एउटा बिन भर्ने कुरा बताईन् । आफुलाई कहिलेकाही गाह्रो हुने भएतापनी किवी टिप्न लय मिलेपछि कुनै गाह्रो महसुस नहुने उनले बताईन । उनिसँग १६ दिन लगातार दिनभर किवी टिपेको अनुभव छ । यो वर्ष पनि उनको लगातार काम गर्ने योजना छ । मौसमले साथ दिए आफुले अझै कमाउन सक्ने उनले बताईन । ६ सन्तानकी आमा ट्रिसको किवी टिप्ने क्षमता देखेर अरु पनि दंग पर्ने गरेका छन् । उनलाई उनको टिमका साथीहरुले ‘मेसिन’ भन्ने गरेको कुरा सुनाउदै उनले भनिन्- ‘म २० वर्षकोले भन्दा छिटो किवी टिप्न सक्छु’ । तर उनले किवी टिप्न शिप र आईडिया हुनु पर्ने  बताईन् । यस्मा शरिर र उमेर भन्दा पनि आफ्नु टिम कस्तो छ भन्ने कुराले फरक पार्ने उनले बताईन ।

ट्रिससँग गरिएको अन्तर्वाताको अङ्रेजी संस्करण हेर्न यहाँ क्लिक गर्नु होला ।

 

ट्रिससँग गरिएको अन्तर्वातालाई आधार मान्ने हुँदा नि किवी टिपेर धेरै पैसा कमाउन सकिने देखिएको छ । हुन त किवी टिप्ने काम घण्टे काममा पर्दैन । ठेक्केदारहरुले बिनको आधारमा पैसा दिने गरेको हुन्छन् । तर त्यही बिनको आधारमा आउने पैसालाई घण्टामा हिसाब गर्दा भने किवी पिकिङबाट राम्रो पैसा हुन्छ । न्युजिल्याण्डमा अहिले किवी फलको सिजन चलिरहेको छ जहाँ किवी टिप्न र त्यस्तै प्याक गर्ने काम धमाधम भईरहेको छ । यो वर्ष किवी टिप्न र प्याक गर्न ७ हजार कामदारको अभाव देखिएको छ । यसबारेमा लेखिएको समाचार पढ्न यहाँ क्लिक गर्नु होला । कामदारको अभावका बिच अहिले किवी टिप्न र प्याक गर्ने कामदारको ज्याला पनि औसद भन्दा बढाईएको छ । प्याकहाउसमा काम गर्नेको ज्याला न्युनतम २४ डलर बनाईएको छ भने किवी टिप्नको लागि पनि बिनको आकार अनुसारको ज्याला राखिएको छ । मौसमले साथ दिए र लगातार काम भए अबको ३ महिनामा किवी टिप्न र प्याक गर्न चाहनेले अतिरिक्त आमदानी गर्ने छन् ।