ककपिट भित्र चरा भेटिएपछि अकल्याण्ड–हङकङ उडान रद्द – New Zealand News Nepal (NZ News Nepal)

ककपिट भित्र चरा भेटिएपछि अकल्याण्ड–हङकङ उडान रद्द

   May 30, 2026  

अकल्याण्ड। अकल्याण्डबाट हङकङका लागि उड्ने एयर न्युजिल्याण्डको एक उडान ककपिटभित्र चरा फेला परेपछि अन्तिम समयमा रद्द गरिएको छ।

हिजो बिहान करिब १०:१५ बजे अकल्याण्ड अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्ने तयारीमा रहेको एनजेड–८१ (NZ81) उडानका यात्रुहरू सामान्य प्रक्रियाअनुसार चेक–इन र सुरक्षा जाँच पूरा गरी विमानमा चढिसकेका थिए।

तर बोर्डिङ सम्पन्न भएको केही समयपछि उडान कक्ष (फ्लाइट डेक) मा एउटा सानो चरा भेटिएको एयर न्युजिल्याण्डका प्रमुख सुरक्षा तथा जोखिम अधिकृत नाथन म्याकग्राले बताएका छन्।

उनका अनुसार उक्त चरालाई सुरक्षित रूपमा फेला पारेर हटाउने प्रयासमा कर्मचारीहरूले धेरै घण्टा खर्च गरे पनि सफल हुन सकेनन्।

“हाम्रा टोलीहरूले चरालाई सुरक्षित रूपमा पत्ता लगाएर हटाउने प्रयास गरे, तर धेरै प्रयासपछि पनि त्यसलाई फेला पार्न सकेनन्,” म्याकग्राले बताएका छन्।

चराको अवस्थाबारे निश्चित हुन नसकेपछि विमानको विस्तृत निरीक्षण गर्न इन्जिनियरिङ तथा मर्मतसम्भार टोलीलाई समय दिन उडान रद्द गर्ने निर्णय गरिएको एयर न्युजिल्याण्डले जनाएको छ।

एयरलाइन्सका अनुसार यात्रु र चालक दलको सुरक्षालाई प्राथमिकता दिँदै उडान रद्द गरिएको हो।

“ढिलाइ र असुविधाका बाबजुद धैर्य र समझदारी देखाउनु भएका यात्रुहरूप्रति हामी आभारी छौँ। हाम्रा ग्राहक र चालक दलको सुरक्षा सधैँ हाम्रो पहिलो प्राथमिकता हो,” कम्पनीले जनाएको छ।