गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युजिल्याण्डले आफ्नो वार्षिक साधारणसभा आगामी जुलाई २५ गते शनिबार क्राइस्टचर्चमा आयोजना गर्ने भएको छ।
संघका अनुसार साधारणसभामा विगत एक वर्षका गतिविधि तथा उपलब्धिको समीक्षा गर्दै संस्थागत सुशासनलाई थप मजबुत बनाउने र आगामी कार्ययोजना तय गर्ने उद्देश्य रहेको छ। कार्यक्रममा अध्यक्ष, महासचिव र कोषाध्यक्षले क्रमशः आफ्नो वार्षिक प्रतिवेदन, प्रशासनिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।
त्यसैगरी, सन् २०२५ को वार्षिक साधारणसभाको निर्णय पुस्तिका अनुमोदन गरिनेछ भने कार्यसमितिसँग प्रश्नोत्तर, सदस्यहरूको सुझाव तथा समसामयिक विषयमा खुला छलफलसमेत गरिने कार्यक्रम तय गरिएको छ।
यस वर्षको साधारणसभाको विशेष एजेन्डाका रूपमा विधान संशोधन समिति गठन गरिने भएको छ। समितिले संस्थाको विधानको पुनरावलोकन गरी आवश्यक संशोधनका लागि सुझाव तयार गर्नेछ। प्रस्तावित संशोधनका विषयमा साधारणसभामा विस्तृत छलफल हुने जनाइएको छ।
एनआरएनए न्युजिल्याण्डले सबै सदस्यलाई साधारणसभामा उपस्थित भई संस्थाको भावी दिशा निर्धारणमा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ। संस्थालाई अझ पारदर्शी, जवाफदेही र प्रभावकारी बनाउने अभियानमा सदस्यहरूको सक्रिय भूमिका महत्वपूर्ण रहने संघको विश्वास छ।


