ब्राजिललाई धक्का : नेमार र ड्यानिलो घाइते‚ स्विट्जरल्याण्डविरुद्ध खेल्न नसक्ने

विंगर एन्टोनी र मिडफिल्डर लुकास पकेटा पनि बिरामी‚ सोमबार नखेल्ने

260 Shares

छैटौं पटक विश्वकप जितेर कीर्तिमान बनाउने ब्राजिली फुटबल टोलीको अभियानमा धक्का लागेको छ। ब्राजिलका चर्चित स्ट्राइकर नेमार जुनियर र भरपर्दा फुलब्याक ड्यानिलो चोटका कारण समूह चरणका खेल खेल्न नसक्न भएपछि ब्राजिली टोली चिन्तामा परेको हो। समूह जी मा रहेको ब्राजिलले सर्वियासँग पहिलो खेल खेल्दा नै नेमार जुनियर र ड्यानिलो घाइते भएका हुन्। ब्राजिली फुटबल एसोसिएशन (सिबिएफ) ले नेमार र ड्यानिलो दुवै जनाको गोलीगाँठामा लागेको चोटका कारण उनीहरूले समूह चरणको सोमबार हुने स्विट्जरल्याण्डविरुद्धको खेल खेल्न नसक्ने शुक्रबार (आज) जनाएको छ। ब्राजिली टोलीका चिकित्सक रोड्रिगो लास्मारले दुवै घाइते खेलाडीले समूह चरणको स्विट्जरल्याण्डसँगको खेल खेल्न नसक्ने जानकारी आज दिएको फिफाले जनाएको छ।

‘नेमार र ड्यानिलोका एमआरआईलगायत सबै परीक्षणको रिपोर्टमा आज छलफल गर्‍यौं‚’ रोड्रिगोले भने‚ ‘स्क्यानले नेमारको दाहिने गोलीगाँठामा चोट लागेको र हड्डी सुन्निएको देखियो भने ड्यानिलोको देब्रे गोलीगाँठामा चोट लागेको पाइएको छ। हामी उनीहरू दुवैलाई सकेसम्म छिटो स्वस्थ बनाउन प्रयासरत छौं‚ उनीहरू दुवैको उपचार भइरहेको छ।’ अब ब्राजिलले समूहका स्विट्जरल्याण्ड र ‘अफ्रिकी सिंह’ उपनाम पाएको क्यामरुनसँग समूह चरणका खेल खेल्नेछ। नेमार कैयौं वर्षदेखि दाहिने खुट्टा र गोलीगाँठाको चोट निको पार्न संघर्षरत रहँदै आएका छन्। सर्वियासँग बिहीबारको खेलमा पनि उनी मैदानबाट बाहिरिँदा चिन्तित देखिएका थिए।

सन् २०१४ को विश्वकपमा कोलम्बियासँग भएको क्वार्टरफाइनल जित्दा उनको ढाडमा चोट लागेको थियो। ढाडको चोटले उनी सेमिफाइनल खेल खेल्न पाएनन्‚ जुन खेलमा ब्राजिलले जर्मनीसँग ७-१ गोलको लज्जास्पद पराजय बेहोर्दै घर फर्कनु परेको थियो। विंगर एन्टोनी र मिडफिल्डर लुकास पकेटा पनि बिरामी भएर सोमबार हुने स्विट्जरल्याण्डविरुद्धको खेल खेल्न नसक्ने भएपछि नेमार र ड्यानिलोको चोटले पिरोलिएको ब्राजिलको चिन्ता अझै थपिएको छ।

सम्बन्धित समाचार

सबै