अकल्याण्ड विमानस्थलको वार्षिकोत्सव आज, यस्तो छ लामो इतिहास

200 Shares

अकल्याण्ड विमानस्थल आज आफ्नो स्थापना वार्षिकोत्सव मनाउँदैछ। न्युजील्याण्डको सबैभन्दा व्यस्त तथा प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा परिचित यस विमानस्थलको इतिहास झण्डै एक शताब्दीअघि सुरु भएको हो, जसले देशको हवाई यातायात, पर्यटन र अन्तर्राष्ट्रिय सम्पर्कमा ऐतिहासिक योगदान पुर्‍याउँदै आएको छ।

अहिलेको विमानस्थल रहेको स्थान सन् १९२८ मा पहिलो पटक Auckland Aero Club ले हवाई मैदानका रूपमा प्रयोग गरेको थियो। क्लबले एक डेरी किसानबाट जमिन भाडामा लिएर आफ्ना तीनवटा De Havilland Gypsy Moth विमान सञ्चालन गरेको थियो। त्यस समय क्लबका अध्यक्षले यो स्थान “हवाई मैदान र तालिमका लागि अत्यन्तै उपयुक्त, राम्रो पहुँच भएको, पानी नजम्ने, बिजुलीका तार, भवन र कुहिरोबाट मुक्त” रहेको बताएका थिए। पुनर्निर्माणअघि यो क्षेत्र माङ्गेरे एरोड्रोम (Māngere Aerodrome) का नामले चिनिन्थ्यो।

सन् १९४८ देखि अकल्याण्डका नागरिक उडानहरू RNZAF Base Auckland (Whenuapai) बाट सञ्चालन हुँदै आएका थिए। तर नयाँ पुस्ताका ठूला विमानका लागि सीमितता देखिएपछि सन् १९५८ मा न्युजील्याण्ड सरकारले Leigh Fisher Associates लाई माङ्गेरे क्षेत्रमा अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइन तथा सर्वेक्षणको जिम्मा दिएको थियो। सन् १९६० मा माणुकाउ हार्बरको केही भाग पुर्नजमिन बनाउँदै अकल्याण्डको मुख्य विमानस्थल निर्माणको काम सुरु भयो।

नोभेम्बर १९६५ मा Air New Zealand को DC-8 विमान सिड्नीका लागि उडेपछि यहाँबाट पहिलो अन्तर्राष्ट्रिय उडान सुरु भयो। त्यसपछि २९–३१ जनवरी १९६६ मा Auckland Anniversary Weekend का अवसरमा भव्य ‘ग्रान्ड एयर पेजेन्ट’सहित विमानस्थलको औपचारिक उद्घाटन गरियो। प्रारम्भमा २,५९१ मिटर लामो रनवे सन् १९७३ मा विस्तार गरी ३,२९२ मिटर पुर्‍याइयो।

सन् १९७२ मा Qantas ले अकल्याण्डबाट पहिलो नियमित Boeing 747 सेवा सुरु गर्‍यो भने १९७७ मा अन्तर्राष्ट्रिय टर्मिनल निर्माण गरी न्युजील्याण्डकी प्रसिद्ध उड्डयन अग्रणी जिन ब्याटन (Jean Batten) को नाममा नामकरण गरियो। यसअघि सबै उडान अहिलेको घरेलु टर्मिनलबाट सञ्चालन हुन्थे। २००५ मा अन्तर्राष्ट्रिय टर्मिनललाई आगमन र प्रस्थान छुट्याउने गरी पुनःसंरचना गरियो।

२००९ मा अन्तर्राष्ट्रिय टर्मिनलमा Pier B विस्तार गरियो, जसले Airbus A380 जस्ता विशाल विमानहरू पनि सेवा दिन सक्ने बनायो। सोही वर्ष Emirates ले दुबई–सिड्नी–अकल्याण्ड रुटमा A380 उडान सुरु गर्दै इतिहास रच्यो। घरेलु टर्मिनलमा २०१३ मा करिब ३० मिलियन डलर खर्चेर व्यापक सुधार गरियो, जसले सुरक्षा, ब्यागेज र यात्रु प्रवाहलाई थप सहज बनायो।

COVID-19 महामारीका बेला विमानस्थलले पहिलो पटक ठूलो आर्थिक घाटा व्यहोर्नुपर्‍यो भने जनवरी २०२३ मा आएको वर्षाले दुबै टर्मिनल डुबानमा परेर झण्डै २४ घण्टा बन्द हुनुपरेको थियो। हाल विमानस्थलले घरेलु टर्मिनल प्रतिस्थापन र रनवे तथा एयरफिल्ड सुधारका लागि अर्बौं डलरको दीर्घकालीन परियोजना अघि बढाइरहेको छ, यद्यपि यसलाई लिएर एयरलाइन्सहरूबीच बहस जारी छ।

वार्षिकोत्सवको अवसरमा अकल्याण्ड विमानस्थलले यात्रु, कर्मचारी, एयरलाइन्स साझेदार र समुदायप्रति आभार व्यक्त गर्दै भविष्यमा अझ सुरक्षित, दिगो र विश्वस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ। अकल्याण्ड विमानस्थल आज न्युजील्याण्डलाई विश्वसँग जोड्ने मात्र होइन, देशको हवाई इतिहास र पहिचानको प्रतीक बनेको छ।

सम्बन्धित समाचार

सबै