Nepal Vs West Indies: इतिहास रच्ने अवसर

257 Shares

नेपाली क्रिकेट टोलीले आज वेस्टइण्डिजसँग प्रतिस्पर्धा गर्दैछ। विश्वकप छनोट अन्तर्गतको यो खेल जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा न्युजिल्याण्ड समयअनुसार आज साझँ ७ बजे  सुरु हुनेछ।

नेपालले विश्वकप विजेतासमेत रहिसकेको वेस्टइण्डिजसँग पहिलो पटक प्रतिस्पर्धा गर्दैछ। वेस्टइण्डिज छनोटमा आफ्नो पहिलो खेलमा अमेरिकामाथि ३९ रनको जित निकाल्दै सुखद सुरुवात गरेको थियो। अर्कोतर्फ जिम्बावेसँग ८ विकेटको फराकिलो हारसँग प्रतियोगिताको सुरुवात गरेको नेपालले दोस्रो खेलमा पुनरागमन गर्दै ६ विकेटको जित निकालेको थियो।

यो खेलमा वेस्टइण्डिजको तर्फबाट बलिङमा अल्जारी जोशेफ र अकिल होसइन र ब्याटिङमा साइ होप र ब्रान्डन किङ ‘प्लेयर्स टू वाच’ हुनेछन्। नेपालको तर्फबाट ब्याटिङमा भीम सार्की र आशिफ शेख तथा बलिङमा सन्दीप लामिछाने र ललित राजवंशी ‘प्लेयर्स टू वाच’ हुनेछन्। अमेरिकाविरुद्ध सानदार प्रदर्शन गरेका करण केसीको बलिङको लयले निरन्तरता पाउन सके नेपाललाई ठूलो फाइदा पुग्नेछ।

नेपालले वेस्टइण्डिजलाई हराउन सकेको खण्डमा ठूलो इतिहास बन्ने छ। यसो भएको खण्डमा नेपाली सिनियर टोलीले पहिलो पटक टेस्ट मान्यता प्राप्त र विश्वकप विजेता टोलीलाई एकदिवसीय अन्तर्राष्ट्रियमा हराउने छ। यतिमात्र होइन नेपालको जितले सुपरसिक्समा पुग्ने सम्भावनालाई बलियो बनाउँछ। पराजय ब्यहोरे यो सम्भावना केही कमजोर बन्नेछ।

नेपालका लागि वेस्टइण्डिजविरुद्धको खेलमा अर्को बलियो पक्ष हुन् : मोन्टी देशाइ। नेपाल आउनुअघि देशाइ वेस्टइण्डिजकै प्रशिक्षक भएकाले त्यहाँको टिम र हरेक खेलाडीबारे उनी जानकार छन्। त्यसले पनि रणनीति बनाउन उनलाई सहज हुनेछ।

समूह ‘ए’मा दुई खेल खेलेर ४ अंक जोडेको जिम्बावे शीर्ष स्थानमा छ भने एकखेलबाट २ अंक जोडेको अमेरिका दोस्रो २ खेलबाट २ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ। त्यस्तै, अंकविहीन अमेरिका र नेदरल्याण्ड्स तालिकाको चौथो र पाँचौँ स्थानमा छन्।

आजै हुने अर्को खेलमा नेदरल्याण्ड्स र अमेरिका प्रतिस्पर्धा गर्नेछन्।

सम्बन्धित समाचार

सबै