आफ्नै घरमा मृत भेटिए अभिनेता सारुक ताम्राकार, आत्महत्या गरेको हुनसक्ने अनुमान – New Zealand News Nepal (NZ News Nepal)

आफ्नै घरमा मृत भेटिए अभिनेता सारुक ताम्राकार, आत्महत्या गरेको हुनसक्ने अनुमान

   July 7, 2023  

अभिनेता सारुक ताम्राकार आफ्नै घरमा मृत फेला परेका छन्। ३१ वर्षीय ताम्राकार काठमाडौंको रातोपुलस्थित आफ्नै घरमा बिहीबार साँझ मृत भेटिएका हुन्। उनले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ। उनी घरको छिडीमा पासो लगाएको अवस्थामा मृत भेटिएका हुन्। आमा–बुवा बाहिर पार्टीमा गएका बेला उनी मृत फेला परेका हुन्।

कलाकार तथा फिल्म इन्डस्ट्रिजहरूले सारुकप्रति सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्। उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ। उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको छ।

कलाकार सानु ताम्राकारका छोरा सारुक पछिल्लो समय अभिनेत्री नम्रता श्रेष्ठसँग फिल्म ‘ह्यासट्याग माया’मा अभिनय गरिरहेका थिए।फिल्मको मुख्य अभिनेता सारुक बिहीबार बिहान पनि फिल्मको सुटिङ गरेर घर फर्किएका थिए। सारुकले ‘इन्टु मिन्टु लन्डनमा’, ‘मेरी मामु’, ‘रानी’ , ‘नमरी बाचे’लगायत फिल्ममा अभिनय गरेका छन्।

उनको पछिल्लो फिल्म ‘ह्यासट्याग माया’को छायांकन जारी छ। उनी अभिनित ‘इन्टु मिन्टु लन्डनमा’ भने प्रदर्शन हुन बाँकी छ।