१० वर्षपछि नेपाली राष्ट्रिय क्रिकेट टिम आज राती टी-२० विश्वकप मैदानमा उपस्थित हुँदैछ। नेपालको पहिलो खेल न्युजिल्याण्ड समय अनुसार बुधबार बिहान ३:३० बजे अमेरिकाको डालासस्थित ग्रान्ड पियरे मैदानमा हुँदैछ। नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै नेपालले विश्वकपको सुरुवात गर्दैछ।
विश्वपको समूह ‘डी’मा रहेको नेपालका लागि नेदरल्यान्ड्स चिरपरिचित प्रतिद्वन्द्वी हो। खेलअघि सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली कप्तान रोहितकुमार पौडेलले विश्वकपको पहिलो खेलका लागि उत्साहित रहेको बताइसकेका छन्।
कप्तान पौडेलले भने, ‘१० वर्षमा हामीले फेरि मौका पाएका छौं। नेदरल्यान्ड्ससँग खेल्न सबै खेलाडी शारीरिक र मानसिक रुपमा तयार छौँ। नेदरल्यान्ड्ससँग हामीले पटकपटक खेलिरहेकोले जित्नका लागि खेल्नेछौँ।’
डालासमा नेपाली समर्थकको साथले थप ऊर्जा दिने कप्तान पौडेलको भनाइ छ। उनले शित र घामको अवस्थालाई हेरेर टसपछि निर्णय हुने बताएका छन्। टसले जित र हारसँग सम्बन्ध नराख्ने उनको भनाइ छ। उनले नेपालको जितले सबै समर्थक र नेपालीलाई खुशीको अनुभूति दिने भन्दै नेपालको प्रदर्शन आगामी पुस्तालाईसमेत प्रोत्साहन पुग्ने हुनुपर्ने उनले बताए।
नेपाल र नेदरल्यान्ड्सको खेल हुने समयको मौसम सफा हुने पूर्वानुमान मौसमविद्ले गरेका छन्। नेदरल्यान्ड्सका प्रशिक्षक रायन कुकलेसमेत नेपालसँग सजक भएर मैदान उत्रने बताएका छन्।
नेपाल र नेदरल्यान्ड्सको ‘हेड टु हेड’
नेपाल र नेदरल्यान्ड्सले अहिलेसम्म गरेका प्रतिस्पर्धामा नेपाल बलियो देखिएको छ। दुई टोलीबिच भएको १२ वटा टी-२० भिडन्तमा नेपालले ६ जित निकालेको छ। एक खेल नतिजाबिहीन हुँदा नेदरल्यान्ड्स ५ खेलमा विजयी भएको छ।