फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल चरण आजदेखि सुरु हुँदैछ। पहिलो क्वार्टरफाइनलमा उपाधिको प्रमुख दाबेदार फ्रान्स र अफ्रिकी च्याम्पियन मोरक्को आज बिहान ८:०० बजे (न्युजिल्याण्ड समय) बोस्टन रंगशालामा आमनेसामने हुँदैछन्।
यस प्रतियोगितामा फ्रान्स अहिलेसम्मकै सबैभन्दा सन्तुलित टोलीको रूपमा देखिएको छ। पाँचै खेलमा जित निकाल्दै उत्कृष्ट प्रदर्शन गरेको फ्रान्सले विपक्षीविरुद्ध १४ गोल गरिसकेको छ भने केवल २ गोल मात्र व्यहोरेको छ।
जारी विश्वकपमा गोल्डेन बुटका प्रमुख दाबेदार केलियन एम्बाप्पेले ५ खेलमा ७ गोल गर्दै टोलीको आक्रमण पंक्तिको नेतृत्व गरिरहेका छन्। एम्बाप्पेसँगै ओस्मान डेम्बेले, माइकल ओलिसे र ब्राडली बारकोला जस्ता खेलाडीको साथ पाएको फ्रान्सेली टोलीको अग्रपंक्ति यस प्रतियोगिताकै सबैभन्दा घातक मानिएको छ।
फ्रान्सले समूह ‘आई’ मा नर्वे, सेनेगल र इराकलाई हराउँदै ९ अंकका साथ शीर्ष स्थान हासिल गरेको थियो। त्यसपछि नकआउट चरणअन्तर्गत अन्तिम ३२ मा स्विडेनलाई ३–० ले सहजै पाखा लगाएको फ्रान्सले अन्तिम १६ मा पराग्वेलाई १–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो।
पराग्वेविरुद्धको खेल कठिन भए पनि टोलीले संयमता र परिपक्वता देखाउँदै जित निकालेको फ्रान्सका सहायक प्रशिक्षक गुई स्टेफानले बताएका छन्। उनले मोरक्को एक सुव्यवस्थित, अनुशासित तथा काउन्टर अट्याकमा निकै खतरनाक टोली भएकाले आजको खेल निकै चुनौतीपूर्ण हुने स्वीकार गरेका छन्। तेस्रो पटक विश्वकप उपाधि जित्ने लक्ष्यमा रहेको फ्रान्सका लागि आजको खेल सहज भने हुने देखिँदैन।
यता, चार वर्षअघि कतार विश्वकपमा स्पेन र पोर्चुगलजस्ता हेभीवेट टोलीलाई स्तब्ध पार्दै सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी तथा अरब राष्ट्र बनेको मोरक्को अब केवल ‘अन्डरडग’ टोली मात्र होइन। विश्व फुटबलकै उदाउँदो शक्तिका रूपमा स्थापित भइरहेको मोरक्को सन् २०२५ को अफ्रिका कप अफ नेसन्स (एफकोन) विजेता पनि हो। हाल मोरक्को लगातार ३४ खेलमा अपराजित रहँदै फिफा वरीयताको छैटौँ स्थानमा रहेको छ।
मोरक्कोका प्रशिक्षक मोहम्मद ओवाबीले आफ्नो टोली अब कसैका लागि सरप्राइज नभएको र यो सफलताको यात्रा अझै सुरुवात मात्र भएको बताएका छन्।
जारी विश्वकपमा स्कटल्याण्ड र हाइटीलाई पराजित गर्दै तथा ब्राजिलसँग बराबरी खेल्दै मोरक्को ७ अंकका साथ समूह ‘सी’ को उपविजेता बनेको थियो। त्यसपछि अन्तिम ३२ मा नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ३–२ ले स्तब्ध पारेको मोरक्कोले अन्तिम १६ मा क्यानाडालाई ३–० ले हराउँदै क्वार्टरफाइनलको यात्रा तय गरेको हो।
मोरक्कोका लागि विङ्गर ब्राहिम डियाजले ४ असिस्ट गर्दै उत्कृष्ट प्रदर्शन गरिरहेका छन् भने सुफियान राहिमी र अजेदिन उनाहीले समान २–२ गोल गरेका छन्।
ऐतिहासिक रूपमा यी दुई टोली हालसम्म ६ पटक आमनेसामने भएका छन्। जसमा फ्रान्सले ४ खेल जितेको छ भने २ खेल बराबरीमा सकिएका छन्। दुवै टोलीबीचको पछिल्लो भेट सन् २०२२ को कतार विश्वकपको सेमिफाइनलमा भएको थियो, जहाँ फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गरेको थियो।
आज बिहान ८ बजे हुने यस प्रतिस्पर्धामा मोरक्को चार वर्षअघिको पराजयको बदला लिँदै लगातार दोस्रो पटक विश्वकपको सेमिफाइनल पुग्ने लक्ष्यमा हुनेछ। उता, फ्रान्स भने आफ्नो अपराजित यात्रा कायम राख्दै तेस्रो विश्वकप उपाधितर्फ थप एक कदम अघि बढ्ने उद्देश्यसहित मैदान उत्रिनेछ।


