साविक विजेता अर्जेन्टिनाले अन्तिम ११ मिनेटमा अविश्वसनीय पुनरागमन गर्दै इजिप्टलाई ३–२ ले पराजित गरेको छ। दुई गोलले पछि परेको अवस्थाबाट तीन गोल फर्काउँदै अर्जेन्टिना फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको हो।
अमेरिकाको एटलान्टास्थित स्टेडियममा न्युजिल्याण्ड समय अनुसार बुधबार बिहान भएको अन्तिम १६ को खेलमा इजिप्टले १५औँ मिनेटमा यासेर इब्राहिम र ६७औँ मिनेटमा मोस्तफा जिकोको गोलमार्फत २–० को अग्रता बनाएको थियो। अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले पहिलो हाफमा पेनाल्टीसमेत गुमाएका कारण साविक विजेता टोली प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको थियो।
तर खेलको ७९औँ मिनेटदेखि अर्जेन्टिनाले शानदार पुनरागमन सुरु गर्यो। क्रिस्टियन रोमेरोले मेस्सीको पासमा पहिलो गोल गर्दै अन्तर घटाए। त्यसको चार मिनेटपछि मेस्सी स्वयंले बराबरी गोल गरे। दोस्रो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा एन्जो फर्नान्डेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई ३–२ को रोमाञ्चक जित दिलाए।
यो जितसँगै अर्जेन्टिनाले लगातार विश्वकप उपाधि रक्षा गर्ने अभियानलाई जीवित राख्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। अब अर्जेन्टिनाले क्वार्टरफाइनलमा स्विट्जरल्याण्ड र कोलम्बियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।


