रुसमा मोदी र पुटिनबीच भेटवार्ता, के के भए कुरा? – New Zealand News Nepal (NZ News Nepal)

रुसमा मोदी र पुटिनबीच भेटवार्ता, के के भए कुरा?

   July 9, 2024  

रुसको दुई दिने भ्रमणका लागि सोमबार मस्को पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री मोदीले सोसल मिडिया प्लेटफर्म एक्सको ह्यान्डलमा भेटका केही तस्बिर पोस्ट गरेका छन्।

ती तस्बिरसहित मोदीले लेखेका छन्, ‘नोभो–ओगार्योभोमा राष्ट्रपति पुटिनको आतिथ्यताका लागि आभार! मंगलबार (आज) पनि हाम्रो वार्ताको प्रतीक्षामा छु। जुन भारत र रुसबीचको मित्रताको सम्बन्धलाई अझ मजबुत बनाउन निश्चित रूपमा उपयोगी साबित हुनेछ।’

रुसको सरकारी मिडिया स्पुतनिकले दुई नेताबीच भएको कुराकानीको भिडिओ सार्वजनिक गरेको छ।

भेटमा पुटिनले नरेन्द्र मोदीलाई तेस्रोपटक प्रधानमन्त्री बन्न सफल भएकामा बधाई दिँदै भने, ‘मलाई लाग्छ यो संयोग होइन, यो सरकार प्रमुखका रूपमा तपाईंले धेरै वर्षदेखि गरेका कामको परिणाम हो।’

‘तपाईंसँग आफ्नो विचार छ, तपाईं एक ऊर्जावान व्यक्ति हुनुहुन्छ, तपाईंलाई भारत र भारतका जनताको हितमा नतिजा प्राप्त कसरी गर्ने भन्ने कुरा थाहा छ। आर्थिक मोर्चामा भारत तेस्रो ठूलो अर्थतन्त्र बन्ने विश्वास छ…अहिले यो जनसंख्याका हिसाबले संसारको सबैभन्दा ठूलो देश हो।’

रुस र अस्ट्रियाको तीन दिने भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदी सोमबार मस्को पुगेका हुन्।

मोदी २२औँ भारत–रुस वार्षिक सम्मेलनमा सहभागी हुनेछन्।

रुस पुगेपछि मोदीलाई ‘गार्ड अफ अनर’ दिइएको थियो।