प्रधानमन्त्री क्रिस्टोफर लक्सनले गत साता आएको भीषण आँधी–वर्षाबाट प्रभावित न्यूजिल्याण्डको पूर्वी तटीय क्षेत्रको हेलिकप्टरमार्फत हवाई निरीक्षण गरेका छन्। उक्त निरीक्षणमा यातायात मन्त्री Chris Bishop तथा आपतकालीन व्यवस्थापन तथा पुनःस्थापनाका सह–मन्त्री Chris Penk पनि सहभागी थिए।
हवाई निरीक्षणपछि उनीहरू Tairāwhiti Emergency Coordination Centre मा पुगेका छन्। प्रधानमन्त्री तथा मन्त्रीहरूले आकाशबाट देखिएको व्यापक क्षतिबारे जानकारी लिँदै अवस्था मूल्याङ्कन गरेका छन्।
गत साता परेको अत्यधिक वर्षाका कारण आएको भीषण बाढी तथा पहिरोले विशेषगरी Te Araroa, Onepoto र Wharekahika वरपरका समुदायहरू सबैभन्दा बढी प्रभावित भएका थिए। लगातारको मूसलधारे वर्षाका कारण धेरै स्थानमा व्यापक क्षति पुगेको र ठूलो संख्यामा बासिन्दालाई सुरक्षित स्थानतर्फ सार्नुपरेको थियो।
सरकारले प्रभावित समुदायहरूलाई आवश्यक सहयोग, राहत तथा पुनःस्थापनाको कामलाई प्राथमिकतामा राखेर अघि बढाइरहेको जनाएको छ।