न्युजिल्याण्डको यातायात कार्यालयले ड्राइभर लाइसेन्सलाई थप सुरक्षित बनाउन नयाँ सुरक्षा प्रविधि लागू गरेको छ। अब १३ अप्रिल २०२६ देखि जारी हुने सबै नयाँ ड्राइभर लाइसेन्समा चालकको जन्ममिति फोटोमाथि नै (एम्बोस गरिएको) राखिनेछ।
अधिकारीहरूका अनुसार यो नयाँ फिचर लागू भएपछि लाइसेन्स नक्कली बनाउने वा फोटो परिवर्तन गर्ने प्रयासलाई निकै कठिन बनाउनेछ। जन्ममिति फोटोमाथि नै एम्बोस गरिएको हुँदा यसलाई सजिलै नक्कल गर्न सकिँदैन, जसले धोखाधडीको जोखिम घटाउने अपेक्षा गरिएको छ।
हाल प्रयोगमा रहेका पुराना ड्राइभर लाइसेन्स भने यथावत् मान्य रहनेछन्। यदि तपाईंको लाइसेन्समा यस्तो एम्बोस सुविधा छैन भने पनि चिन्ता लिनुपर्ने छैन, किनकि यो लाइसेन्स म्याद समाप्त नहुँदासम्म पूर्ण रूपमा वैध रहनेछ र प्रयोग गर्न सकिनेछ।
यातायात कार्यालयले यो सुविधा थप्दा कुनै अतिरिक्त खर्च नलाग्ने जनाएको छ। लाइसेन्स निर्माण प्रक्रियामै सजिलै समावेश गर्न सकिने भएकाले यसलाई “सरल तर प्रभावकारी” सुरक्षा सुधारका रूपमा लिइएको छ।
यसैबीच, सरकारले ल्याउने तयारी गरेको डिजिटल ड्राइभर लाइसेन्स योजनामा भने यसले कुनै असर पार्ने छैन। डिजिटल लाइसेन्स उपलब्ध भएपछि पनि नागरिकले चाहेको खण्डमा भौतिक (कार्ड) लाइसेन्स लिन सक्ने विकल्प भने यथावत् रहनेछ।