गायक पशुपति शर्मा न्युजिल्याण्ड आइपुगेका छन्। नेपाली समुदायमाझ लोकप्रिय रहेका शर्मा क्राइस्टचर्च र अकल्याण्डमा आयोजना हुने विशेष कार्यक्रमहरूमा प्रस्तुति दिन लागेका हुन्।
उनले शनिबार क्राइस्टचर्चमा हुने नेपाल फेस्टिभलमा आफ्नो प्रस्तुति दिनेछन्। उक्त कार्यक्रम नेपाली कला, संस्कृति र संगीतको उत्सवका रूपमा मनाइने भएकाले दर्शकहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ।
त्यसैगरी, आइतबार अकल्याण्डमा नेपाली नयाँ वर्षको अवसरमा आयोजना गरिएको कार्यक्रममा पनि शर्मा स्टेजमा उत्रिनेछन्। नयाँ वर्ष २०८३ को स्वागतसँगै हुने यस सांगीतिक कार्यक्रममा उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्नेछन्।
न्युजिल्याण्डस्थित नेपाली समुदायका लागि यी कार्यक्रमहरू विशेष आकर्षणका रूपमा हेरिएको छ, जहाँ संगीतमार्फत सांस्कृतिक एकता र उत्साह थप मजबुत हुने विश्वास गरिएको छ।


