न्युजिल्याण्ड सरकारले देशभर फैलिँदै गएको जंगली पाइन (Wilding Pine) नियन्त्रणका लागि बजेट २०२६ अन्तर्गत ठूलो रकम थप गर्ने घोषणा गरेको छ। आगामी तीन वर्षका लागि राष्ट्रिय Wilding Conifer Control Programme मा थप ७९ मिलियन डलर विनियोजन गरिने भएको हो।
यससँगै उक्त कार्यक्रमको कुल खर्च १०९ मिलियन डलर पुग्नेछ। घोषणा प्रधानमन्त्री क्रिस्टोफर लक्सन, उपप्रधानमन्त्री डेभिड सीमोर तथा बायोसेक्युरिटी मन्त्री एन्ड्र्यु होगगार्डले आइतबार क्विन्सटाउनमा गरेका हुन्।
सरकारका अनुसार यो लगानीले कृषियोग्य भूमि, पानीको स्रोत र स्थानीय जैविक विविधता संरक्षण गर्न मद्दत गर्नेछ भने डढेलोको जोखिम पनि कम हुनेछ।
मन्त्री होगगार्डले “ग्रामीण उत्पादन र वातावरण जोगाउन यो महत्वपूर्ण लगानी भएको” बताएका छन्।
यदि समयमै नियन्त्रण नगरिए आगामी ५० वर्षमा जंगली पाइनका कारण करिब ३.६ बिलियन डलरसम्म आर्थिक क्षति हुन सक्ने प्रधानमन्त्री लक्सनले चेतावनी दिएका छन्।
हाल न्युजिल्याण्डभर करिब २० लाख हेक्टरभन्दा बढी भूमि जंगली पाइनबाट प्रभावित भएको अनुमान गरिएको छ। क्विन्सटाउन र व्हाकाटिपु बेसिन, म्याकेन्जी बेसिन, साउथ मार्लबरोको मोल्सवर्थ स्टेशन तथा सेन्ट्रल प्लेटो लगायत नौ क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिने बताइएको छ।