राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवासी नेपाली सम्पर्क विभाग–न्युजिल्याण्डले भोलीदेखि आयोजना हुने पार्टीको केन्द्रीय महाधिवेशनका लागि तीन जना प्रतिनिधिको नाम सिफारिस गरेको छ।
विभागीय समितिको गत बिहिबार सम्पन्न बैठकले अशोक कडेल, सुसन पौडेल तथा प्रदीप दुवाडीलाई महाधिवेशन प्रतिनिधिका रूपमा अघि सार्ने निर्णय गरेको हो।
चयन भएका प्रतिनिधिमध्ये सुसन पौडेल हाल विभागका सचिवका रूपमा कार्यरत छन्। न्युजिल्याण्डमा पार्टी संगठनलाई सुदृढ बनाउन, प्रवासी नेपाली समुदायसँग समन्वय बढाउन तथा पार्टीका गतिविधिलाई सक्रिय रूपमा सञ्चालन गर्न उनले उल्लेखनीय योगदान पुर्याउँदै आएका छन्।
बैठकले महाधिवेशनमा प्रतिनिधिहरूको सहभागिता सुनिश्चित गर्न आवश्यक व्यवस्थापन गरिदिन पार्टीको केन्द्रीय नेतृत्वसँग आग्रह गरेको छ। साथै, न्युजिल्याण्डमा रहेका नेपालीहरूको भावना, सरोकार तथा सुझावहरू महाधिवेशनमा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता समेत व्यक्त गरिएको विभागले जनाएको छ।


