नेपाल, भारत, अमेरिका लगायतका देशमा चर्चित रहेको गायन रियालिटी सो आईडल न्युजिल्याण्डमा भने सफल हुन सकेन । आज भन्दा २० वर्ष अगाडि सन् २००४ मा न्युजिल्याण्डको टि.भीमा अमेरिकन आईडल र अष्ट्रेलियन आईडल प्रसारण हुने गर्दथ्यो । यि दुवै कार्यक्रम न्युजिल्याण्डमा सर्वाधिक हेरिने टि.भी कार्यक्रम हुने गर्दथ्यो । त्यसपछि अमेरिकन आईडल र अष्ट्रेलियन आईडल प्रसारण गर्ने न्युजिल्याण्डको टि.भी टु ले पहिलो पटक आईडलको न्युजिल्याण्ड संस्करण ल्याउने निर्णय गर्यो । त्यसै अनुरुप सन् २००४ फेब्रुअरी ४ बाट न्युजिल्याण्ड आईडलको पहिलो सिजन सुरु भयो । पहिलो सिजनको अडिसन अकल्याण्ड, क्राईसचर्च र अप्पर हटमा गरिएको थियो । पहिलो सिजन सफलता पुर्वक सम्पन्न भयो र बेल लमिन्स पहिलो सिजनको बिजेता बनेका थिए ।
पहिलो सिजन सकिएको ठीक एक वर्ष पछि सन् २००५ जुलाईबाट न्युजिल्याण्ड आईडलको दोस्रो सिजन सुरु भएको थियो । दोस्रो सिजनलाई पनि न्युजिल्याण्डमा अत्याधिक रुचाईएको थियो । दोस्रो सिजनको बिजेता रोसिता भएकी थिईन् । दोस्रो सिजनबाट न्युजिल्याण्ड आईडलको आलोचना हुन थालिएको थियो । यस्मा बिभिन्न कारण बताईएको छ । प्रतिस्पर्धीलाई अनावश्यक कन्ट्राकमा साईन गर्न लगाईएको । भोटिङ अनुसार एलिमिनेसन नभएको लगायतको आरोप न्युजिल्याण्ड आईडल माथि लगाईएको थियो ।
यसका बाबजुत सन् २००६ जुलाईबाट न्युजिल्याण्ड आईडलको तेस्रो सिजन सुरु भएको थियो । यो सिजन नै न्युजिल्याण्ड आईडलको अन्तिम सिजन बन्न पुग्यो । तेस्रो सिजन पछि भने टि.भी एनजेडले न्युजिल्याण्ड आईडलको चौथो सिजनलाई तत्काल नल्याउने निर्णय गर्यो । केही महिना पछि टि.भी ले आईडल सिरिजलाई अब न्युजिल्याण्डमा प्रसारण गर्ने योजना नभएको बतायो । त्यस्पछि न्युजिल्याण्ड आईडलको कुनै सिजन आएको छैन । यसरी ३ सिजनमा नै न्युजिल्याण्डमा गायन रियालिटी सो बन्द भएको थियो ।
सिजन १ र २ का बिजेता अहिले पनि न्युजिल्याण्डको गायन क्षेत्रमा सकृय छन् भने सिजन ३ को बिजेता म्याथिउ सौनाउ भने अहिले जेलमा छन् । अकल्याण्डमा उनको गाडीले एक प्रहरीलाई ठक्कर दिएको थियो । उनलाई अदालतले गत वर्ष मात्र ७ वर्षको जेल सजाय सुनाएको थियो ।