न्यूजील्याण्डमा सुनामीको प्रभाव देखिन थाल्यो, दिउँसोसम्म खतरा कायमै – New Zealand News Nepal (NZ News Nepal)

न्यूजील्याण्डमा सुनामीको प्रभाव देखिन थाल्यो, दिउँसोसम्म खतरा कायमै

   July 31, 2025  

रुसको प्रायद्वीप नजिक ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएपछि न्यूजील्याण्डमा सुनामीको जोखिम अझै कायमै रहेको अधिकारीहरूले बताएका छन्।

न्यूजील्याण्ड आपतकालीन व्यवस्थापन निकाय (NEMA) ले पछिल्लो अपडेटमा सुनामी गतिविधि देशका केही भागमा पुगिसकेको पुष्टि गरेको छ। सुरुका छालहरू सबैभन्दा ठूला नहुन सक्ने र यस्ता छालहरू धेरै घण्टासम्म निरन्तर देखिन सक्ने सम्भावना रहेको जनाइएको छ।

NEMA ले चेतावनी दिएको छ कि यो खतरा तबसम्म वास्तविक ठान्नुपर्छ जबसम्म आधिकारिक रूपमा सुनामी चेतावनी फिर्ता लिइँदैन।

न्यूजील्याण्डमा दिउँसोसम्म सुनामी परामर्श (tsunami advisory) जारी रहनेछ। यस अवधिमा देशभरका तटीय क्षेत्रहरूमा बलियो जलप्रवाह र अप्रत्याशित छालहरू देखिन सक्ने जनाइएको छ।

रातभरि तटीय निगरानी बढाइएको थियो र कुक स्ट्रेटमा सञ्चालन हुने फेरीहरूलाई अन्य मार्गबाट डाइभर्ट गरिएको थियो।

सागर, समुद्र किनारा, बन्दरगाह, नदी र खाडी क्षेत्रहरूमा रहेका मानिसहरूलाई तत्काल त्यस्ता स्थानबाट टाढा रहन तथा पानीबाट बाहिर निस्कन आग्रह गरिएको छ।

यस शक्तिशाली भूकम्पपछि रुसको कामचाट्का प्रायद्वीपको कल्युचेभ्स्कोइ ज्वालामुखी समेत विस्फोट हुन थालेको छ।

यस भूकम्पपछि चिली, इस्टर द्वीप र कोलम्बियामा समेत सुनामीको चेतावनी जारी गरिएको छ।

यो भूकम्प सन् २०११ यताकै विश्वकै सबैभन्दा शक्तिशाली भूकम्प भएको र विश्व इतिहासमा रेकर्ड गरिएको छैटौँ ठूलो भूकम्प भएको बताइएको छ।