नेपाल महिला राष्ट्रिय फुटबल टिमकी स्टार खेलाडी सबित्रा भण्डारी साम्बालाई न्युजिल्याण्डमा स्वागत गर्न विशेष तयारी गरिएको छ। भण्डारी आगामी सेप्टेम्बर ३ तारिख राति १० बजे अकल्याण्ड अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ। साम्बाले अस्ट्रेलिया र न्युजिल्याण्डमा हुने महिला ए-लिग क्लब वेलिङटन फिनिक्ससँग आगामी दुई सिजनका लागि सम्झौता गरेकी छन्। उनको आगमनलाई अविस्मरणीय बनाउन न्युजिल्याण्डमा रहेका नेपाली समुदायले स्वागत कार्यक्रमको आयोजना गरेका छन्।
२९ वर्षीया भण्डारी क्लब र राष्ट्रिय टिम दुवैका लागि प्रखर स्ट्राइकरका रूपमा परिचित छिन्। उनले हालसम्म नेपालको लागि ६० खेलमा ६६ गोल गर्दै इतिहास रचेकी छन्। हालै सम्पन्न एएफसी महिला एसियन कप छनोटमा उनले लगातार तीन खेलमा ह्याट्रिक गर्दै ९ गोल गरेकी थिइन्।



