कुक आईल्याण्डका प्रधानमन्त्री मार्क ब्राउनले न्यूजिल्याण्डका प्रधानमन्त्री र परराष्ट्र मन्त्रीसँग उच्चस्तरीय भेटको अनुरोध गरेको, तर त्यो अस्वीकृत भएको बताएका छन् । आफुले न्यूजिल्याण्डका प्रधानमन्त्री र परराष्ट्र मन्त्रीलाई पत्र लेखेर उच्चस्तरीय छलफलको अवसर मागेको गरे तर न्यूजिल्याण्डको तर्फबाट त्यो अनुरोध अस्वीकृत भएको बताए। ब्राउनले भने, ”मैले दुई देशबीचको छलफल नेतृत्व स्तरसम्म पुर्याउन चाहन्थेँ, तर उनीहरूले जवाफ पठाएर अधिकारीहरूबीच मात्र छलफलग र्न सुझाव दिएका छन्।”
उनको उद्देश्य दुई देशबीचको सम्बन्ध सुधार र अनुदानको रोकथामबारे छलफल गर्नु थियो।
न्यूजिल्याण्डले कुक आईल्याण्डलाई दिने दोस्रो चरणको अनुदान रोकिसकेको छ, जसले विगत दुई वर्षमा जम्मा ३० मिलियन अमेरिकी डलर रोकिएको छ।
न्युजिल्याण्ड र छिमेकी टापु देश कुक आईल्याण्डबीच यसै वर्षको सुरुवातदेखि नै कूटनीतिक सम्बन्धमा दरार आएको थियो।
न्युजिल्याण्डबाट झण्डै ३ हजार किलोमिटर उत्तर–पूर्वमा रहेको सानो राष्ट्र कुक आईल्याण्डका प्रधानमन्त्री ब्राउनले फेब्रुअरीमा न्युजिल्याण्डसँग परामर्श नगरी चीनको भ्रमण गरेपछि न्यूजिल्याण्डले आपत्ति जनाएको थियो। यस घटनापछि दुई देशबीच सम्बन्धमा केही चिसोपन देखिएको थियो।
न्युजिल्याण्डको परराष्ट्र मन्त्रालयले यसबारे स्पष्ट पारेको थियो कि दुई देश एकै परिवारको सदस्य जस्तै छन् र यस्तो अन्तर्राष्ट्रिय भ्रमणमा पूर्व–परामर्श आवश्यक रहेको धारणा राखेको थियो। तर कुक आईल्याण्डको तर्फबाट यसबारे कुनै आधिकारिक प्रतिक्रिया आएको थिएन।
इतिहासमा हेर्दा, कुक आईल्याण्ड कुनै समय न्युजिल्याण्डकै अधीनमा रहेको देश हो। सन् १९०१ देखि १९६५ सम्म यो न्युजिल्याण्डकै प्रशासनमा चल्दथ्यो। आज कुक आईल्याण्डको जनसंख्या करिब १५ हजार मात्रै रहेको छ र त्यहाँ अहिले पनि न्युजिल्याण्डको मुद्रा प्रयोगमा छ। नेपाली नागरिकहरूले यस देशमा भिसा नलिई प्रवेश गर्न सक्ने सुविधा पाएका छन्।