न्युजिल्याण्डका विदेशमन्त्री विन्स्टन पिटर्सले हेदर सिम्पसनलाई अन्टार्क्टिका न्यूजिल्याण्डको उपाध्यक्ष पदमा नियुक्त गरेका छन्। उक्त नियुक्ति अप्रिल १, २०२६ देखि लागू भएको हो।
मन्त्री पिटर्सका अनुसार सिम्पसनसँग सुदृढ प्रशासनिक तथा व्यवस्थापन अनुभव रहेको छ। उनी हाल बोर्ड सदस्यको रूपमा कार्यरत रहँदै अन्टार्क्टिकाको न्युजिल्याण्डका लागि रणनीतिक महत्वबारे गहिरो समझ राख्ने व्यक्तित्व हुन्।
उनले सिम्पसनको पदोन्नतिले हालसम्मको योगदानको सम्मान गरेको उल्लेख गर्दै संस्थालाई चुनौतीपूर्ण रणनीतिक तथा सञ्चालनात्मक अवस्थाबाट अघि बढाउन अध्यक्ष तथा बोर्डलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे।
हेदर सिम्पसन सन् २०२४ मा अन्टार्क्टिका न्यूजिल्याण्डको बोर्डमा नियुक्त भएकी थिइन्। उनले विश्वस्तरीय अनुसन्धान, वातावरणीय संरक्षण तथा अन्टार्क्टिकामा न्युजिल्याण्डको उपस्थितिलाई सुदृढ बनाउने काममा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छन्। साथै, स्कट बेस पुनर्निर्माण परियोजनाको निगरानी तथा समन्वयमा पनि उनले सक्रिय योगदान दिँदै आएकी छन्।
अन्टार्क्टिका न्यूजिल्याण्ड न्युजिल्याण्ड सरकारको निकाय हो, जसले अन्टार्क्टिकामा देशका गतिविधिहरू सञ्चालन गर्ने, विश्वस्तरीय वैज्ञानिक अनुसन्धानलाई सहयोग गर्ने तथा वातावरण संरक्षणमा काम गर्ने जिम्मेवारी वहन गर्छ। संस्थाको दृष्टि “अन्टार्क्टिका र दक्षिणी महासागर—मूल्यवान, संरक्षित र बुझिएको” रहेको छ।


