भारतसँगको व्यापार सम्झौतामा हस्ताक्षर गर्न मन्त्री म्याक्ले दिल्ली प्रस्थान – New Zealand News Nepal (NZ News Nepal)

भारतसँगको व्यापार सम्झौतामा हस्ताक्षर गर्न मन्त्री म्याक्ले दिल्ली प्रस्थान

   April 24, 2026  

न्युजिल्याण्डका व्यापार तथा लगानी मन्त्री टोड म्याक्ले आज भारतको नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन्। उनले न्युजिल्याण्ड–भारत स्वतन्त्र व्यापार सम्झौता (एफटीए) मा हस्ताक्षर गर्न जाँदैछन्। यस भ्रमणमा विभिन्न दलका सांसदहरू सहित ३० भन्दा बढी न्युजिल्याण्डका व्यवसायिक प्रतिनिधिहरूको टोली पनि सहभागी रहेको छ।

मन्त्री म्याक्लेले यो ऐतिहासिक सम्झौताले विश्वकै ठूलो र तीव्र रूपमा विकास भइरहेको अर्थतन्त्रमध्ये एक भारतमा न्युजिल्याण्डका निर्यातकर्ताहरूका लागि विशाल अवसरहरू सिर्जना गर्ने बताएका छन्। उनका अनुसार यो सम्झौताले भारतसँगको सम्बन्धलाई अझ मजबुत बनाउने सरकारको प्रतिबद्धतालाई पनि पुष्टि गर्दछ। साथै, आगामी १० वर्षमा निर्यातको मूल्य दोब्बर बनाउने महत्वाकांक्षी लक्ष्यलाई सहयोग पुग्ने विश्वास गरिएको छ।

उक्त सम्झौताका वार्ताहरू सन् २०२५ को डिसेम्बरमा सम्पन्न भएका थिए। भारत भ्रमणका क्रममा मन्त्री म्याक्लेले एन्ज्याक दिवसको अवसरमा आयोजना हुने ‘डन सर्भिस’मा सहभागी भई आफ्नो देशका साथै अष्ट्रेलिया र भारतका लागि लडेका सैनिकहरूको सम्मान गर्ने कार्यक्रम पनि रहेको छ।

त्यसैगरी, उनले भारतका वाणिज्य तथा उद्योग मन्त्री पियूष गोयलसँग संयुक्त रूपमा न्युजिल्याण्ड–भारत व्यापार सम्मेलन आयोजना गर्नेछन्। यस सम्मेलनमार्फत दुवै देशबीच व्यापार र लगानीका सम्भावनाहरू थप विस्तार गर्ने अपेक्षा गरिएको छ।

मन्त्री म्याक्लेले आफ्नो भ्रमणको क्रममा सिङ्गापुरमा पनि छोटो बसाइ गर्दै व्यापार तथा लगानी प्रवर्द्धनसम्बन्धी कार्यक्रमहरूमा सहभागिता जनाउनेछन्।

न्युजिल्याण्डका लागि भारतसँगको व्यापार सम्झौता लामो समयदेखिको लक्ष्य रहेको भन्दै यस एफटीएमा हस्ताक्षर हुनु दुवै देशका लागि उत्सवको अवसर भएको मन्त्री म्याक्लेले बताएका छन्।