न्युजिल्याण्डमा ५० प्रतिशत कामदारको मात्रै तलब वृद्धि

299 Shares

न्युजिल्याण्डका केवल आधा कामदारले मात्रै गत वर्ष तलब वृद्धि पाएको एक नयाँ सर्वेक्षणले देखाएको छ। Seek ले आज सार्वजनिक गरेको सर्वेक्षणअनुसार श्रम बजारमा सावधानीपूर्ण अवस्था कायम रहँदा कामदारको अपेक्षा र वास्तविकताबीच स्पष्ट अन्तर देखिएको छ।

एक हजारभन्दा बढी विभिन्न उमेर समूह र पेशाका कामदारलाई समेटिएको उक्त सर्वेक्षणअनुसार ५० प्रतिशत कामदारले मात्रै गत वर्ष तलब वृद्धि पाएका छन्। तर, सकारात्मक पक्ष के छ भने ८३ प्रतिशत कामदारले आगामी १२ महिनाभित्र तलब बढ्ने अपेक्षा गरेका छन्।

सर्वेक्षणले अझै धेरै कामदारले तलबबारे कुरा गर्न हिच्किचाउने देखाएको छ। ४६ प्रतिशत कामदारले कहिल्यै तलब वृद्धि मागेका छैनन् भने केवल ३२ प्रतिशत मात्र तलबसम्बन्धी वार्ता सुरु गर्न सहज महसुस गर्छन्।

तथ्यांक विभाग Stats NZ का अनुसार डिसेम्बर २०२५ सम्मको एक वर्षमा न्युजिल्याण्डमा समग्र तलब तथा ज्याला दर (ओभरटाइमसहित) २ प्रतिशतले वृद्धि भएको छ। औसत साप्ताहिक आम्दानी १,६५१ डलरबाट बढेर १,७१२ डलर पुगेको छ भने औसत प्रति घण्टा आम्दानी ४२.५७ डलरबाट बढेर ४३.९९ डलर पुगेको छ।

तर, कामदारको सन्तुष्टि भने कम देखिएको छ। सर्वेक्षणअनुसार केवल ४१ प्रतिशत कामदार मात्रै आफ्नो हालको तलबबाट सन्तुष्ट छन्, जसलाई बढ्दो जीवनयापन खर्चसँग जोडेर हेरिएको छ।

तलब वृद्धि पाउनेमध्ये ९० प्रतिशतले आफ्नै कम्पनीमा बसेर वृद्धि पाएका छन्। तीमध्ये ५२ प्रतिशतमा कम्पनीस्तरको समायोजन मुख्य कारण बनेको छ भने व्यक्तिगत प्रदर्शनका आधारमा वृद्धि पाउने संख्या २४ प्रतिशत मात्रै रहेको छ।

क्षेत्रगत रूपमा औद्योगिक (५७%), पेशागत सेवा (५३%) र प्रविधि (५२%) क्षेत्रमा काम गर्नेहरूले सबैभन्दा बढी तलब वृद्धि पाएका छन्।

युवा पुस्ता तलब वृद्धिमा अघि देखिएको छ। मिलेनियल्स (५४%) र जेन–जेड (४८%) ले सबैभन्दा धेरै तलब वृद्धि पाएका छन् भने मिलेनियल्समध्ये ६० प्रतिशतले तलब वृद्धि मागेका थिए, जुन अन्य उमेर समूहभन्दा बढी हो।

सर्वेक्षणले देखाएअनुसार न्युजिल्याण्डमा कामदारहरू अझै आशावादी रहे पनि बजारको यथार्थ भने चुनौतीपूर्ण नै रहेको संकेत देखिन्छ।

सम्बन्धित समाचार

सबै