बेलायतमा माओरी रानी र राजकुमार विलियमबीच ऐतिहासिक भेट – New Zealand News Nepal (NZ News Nepal)

बेलायतमा माओरी रानी र राजकुमार विलियमबीच ऐतिहासिक भेट

   May 13, 2026  

बेलायतस्थित विन्डसर क्यासलमा माओरी समुदायकी रानी ते अरिकिनुई कुइनी ङा वाइ होनो इ ते पो र बेलायती राजपरिवारका सदस्य राजकुमार विलियमबीच ऐतिहासिक भेटवार्ता भएको छ।

किङ्गिताङ्गा पक्षका प्रवक्ता राहुई पापाका अनुसार विन्डसर क्यासलमा कुनै माओरी सम्राटले बेलायती राजपरिवारका सदस्यसँग भेट गरेको यो पहिलो पटक हो। माओरी भाषामा “ते अरिकिनुई” को अर्थ ‘सर्वोच्च प्रमुख’ भन्ने हुन्छ।

यो भेट महारानी ते अरिकिनुईले आफ्नो पिता किङ्गी तुहेटिया पूतताउ ते व्हेरोव्हेरो सातौँको निधनपछि राजगद्दी सम्हालेयता बेलायती राजपरिवारसँग गरेको पहिलो औपचारिक भेट हो। ६९ वर्षको उमेरमा उनका पिताको सन् २०२४ अगस्ट ३० मा निधन भएको थियो।

२९ वर्षीया माओरी महारानी र ४३ वर्षीय प्रिन्स अफ वेल्सबीच वातावरण संरक्षण तथा युवापुस्तालाई सफल बनाउन सहयोग गर्ने विषयमा समान रुचि रहेको बताइएको छ। बेलायती राजा किङ चार्ल्स तृतीय पनि यस्ता सामाजिक तथा वातावरणीय अभियानमा सक्रिय रहँदै आएका छन्।

किङ्गिताङ्गाले सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यअनुसार भेटका क्रममा दुवै नेताबीच विश्वव्यापी विभिन्न विषयमा छलफल भएको थियो।

वक्तव्यमा महारानी ते अरिकिनुईले “विश्वका वातावरणीय र सामाजिक चुनौती समाधान गर्न आदिवासी ज्ञान र पुस्तान्तरणीय संरक्षणको महत्वपूर्ण भूमिका रहने” विश्वास व्यक्त गरेको उल्लेख गरिएको छ।