न्युजिल्याण्डको साउथ आईल्याण्डस्थित माउन्ट एस्पायरिङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा भएको हेलिकप्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
आइतबार बिहान ९ः३९ बजे साउथ वेस्टल्याण्डस्थित ते नाइही नदीको माथिल्लो क्षेत्रमा भएको दुर्घटनामा पाइलट टिम ब्राउन र गाइड सिन रोचको मृत्यु भएको हो ।
अल्पाइन ग्रुप लिमिटेडले सोमबार एक वक्तव्य जारी गर्दै घटनाले कम्पनी स्तब्ध भएको जनाएको छ ।
कम्पनीले दुवै जना अत्यन्त अनुभवी तथा आफ्नो नजिकको टोलीका महत्वपूर्ण सदस्य रहेको उल्लेख गरेको छ ।
“यस कठिन समयमा उहाँहरूका परिवार र आफन्तप्रति हाम्रो गहिरो समवेदना छ,” वालिस परिवारको स्वामित्वमा रहेको कम्पनीले जनाएको छ ।
यसअघि सन् २०१८ मा वालिस परिवारका दुई दाजुभाइ म्याट वालिस र निक वालिस पनि छुट्टाछुट्टै हेलिकप्टर दुर्घटनामा मारिएका थिए ।
कम्पनीका अनुसार दुर्घटनाका बेला टिम ब्राउन र सिन रोच स्पष्ट तथा शान्त मौसममा निर्देशित शिकार अभियान सञ्चालन गरिरहेका थिए ।
घटनाको अनुसन्धान Transport Accident Investigation Commission र Civil Aviation Authority ले गरिरहेको छ ।
कम्पनीले अनुसन्धानमा पूर्ण सहयोग गर्ने र दुर्घटनाको वास्तविक कारण पत्ता लगाइने विश्वास व्यक्त गरेको छ ।
सिन रोच अनुभवी गाइड मात्र नभई गल्फ प्रशिक्षक पनि थिए । उनी ओटागो पुरुष एमेच्योर गल्फ टोलीका पूर्व कप्तान समेत रहेका थिए ।
टिम ब्राउनकी श्रीमती र छोरीका लागि आर्थिक सहयोग जुटाउन गिभ अ लिटल अभियान पनि सुरु गरिएको छ ।
अभियानमा उनको मृत्यु “हृदयविदारक झट्का” भएको उल्लेख गर्दै उनी विमानन क्षेत्रमा अत्यन्त सम्मानित व्यक्तित्व रहेको बताइएको छ । विशेषगरी कृषि तथा फार्मिङ क्षेत्रमा उनको योगदान उल्लेखनीय रहेको जनाइएको छ ।
हालका वर्षहरूमा उनले नयाँ व्यवसायमा ठूलो लगानी गरेका कारण परिवार थप अनिश्चित अवस्थामा पुगेको अभियानमा उल्लेख छ ।
टीएआईसीका वरिष्ठ सञ्चार सल्लाहकार साइमन प्लेजेन्ट्सका अनुसार दुर्घटना माउन्ट एस्पायरिङ र माउन्ट भिक्टरको बीचमा, माकारोराबाट करिब २४ किलोमिटर पश्चिममा भएको थियो ।
अनुसन्धानका लागि तीन जना अधिकारी घटनास्थलमा खटिएका छन् । दुई जना दुर्घटनास्थलमा भग्नावशेषको परीक्षण गरिरहेका छन् भने अर्का अनुसन्धानकर्ता क्विन्सटाउन र वानाकामा अन्तर्वार्ता तथा कागजात संकलनमा जुटेका छन् ।
दुर्घटनास्थलबाट भग्नावशेष हटाएर वेलिङ्टनस्थित प्राविधिक केन्द्रमा ल्याइने टीएआईसीले जनाएको छ ।
क्रोमवेल सीआईबीकी डिटेक्टिभ सार्जेन्ट सारा वघका अनुसार शिकार टोलीका अन्य तीन सदस्यलाई सुरक्षित अवस्थामा उद्धार गरिएको थियो ।
प्रहरीले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै उनीहरूलाई आवश्यक सहयोग उपलब्ध गराइरहेको जनाएको छ ।
दुवै जनाको मृत्युबारे कोरोनरमार्फत थप अनुसन्धान अघि बढाइएको छ ।


