न्युजिल्याण्ड लगायत विश्वभर फेसबुक, इन्स्टाग्राम र मेसेन्जरमा देखियो समस्या – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्ड लगायत विश्वभर फेसबुक, इन्स्टाग्राम र मेसेन्जरमा देखियो समस्या

   June 13, 2026  

मेटा कम्पनीका प्रमुख सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र मेसेन्जरमा शुक्रबार देखिएको प्राविधिक समस्या क्रमशः समाधान हुन थालेको छ। केही घण्टासम्म प्रभावित भएका सेवाहरू अहिले आंशिक रूपमा पुनः सञ्चालनमा आउन थालेका छन्।

शुक्रबार मध्यरातिदेखि सुरु भएको प्राविधिक गडबडीका कारण न्युजिल्याण्डसहित विश्वका विभिन्न देशका लाखौं प्रयोगकर्ताहरू प्रभावित भएका थिए। धेरै प्रयोगकर्ताले आफ्नो अकाउन्ट अचानक स्वतः लगआउट भएको, पुनः लगइन गर्न खोज्दा ‘समथिङ वेन्ट रङ’ जस्ता सन्देश देखिएको तथा फेसबुक र इन्स्टाग्रामको फिड लोड नभएको गुनासो गरेका थिए।

त्यस्तै, मेसेन्जरमा सन्देश पठाउन तथा प्राप्त गर्नसमेत समस्या देखिएको थियो। अकाउन्टहरू एक्कासि लगआउट भएपछि कतिपय प्रयोगकर्ताहरूले आफ्नो अकाउन्ट ह्याक भएको आशंका समेत गरेका थिए।

प्राविधिक विज्ञहरूका अनुसार यो कुनै व्यक्तिगत अकाउन्टको सुरक्षा समस्या नभई मेटाको केन्द्रीय सर्भरमा आएको अस्थायी प्राविधिक अवरोधका कारण भएको हो। अहिले सेवा क्रमशः सामान्य बन्दै गएको र अधिकांश प्रयोगकर्ताले पुनः लगइन गर्न तथा सामाजिक सञ्जाल प्रयोग गर्न थालेको बताएका छन्।

विज्ञहरूले समस्या पूर्ण रूपमा समाधान नहुँदासम्म बारम्बार लगइन गर्ने, पासवर्ड परिवर्तन गर्ने वा ‘फरगट पासवर्ड’ प्रयोग गर्ने कार्य नगर्न सुझाव दिएका छन्। यस्तै, एप हटाएर पुनः स्थापना गर्दा पनि समस्या समाधान नहुने भएकाले अनावश्यक रूपमा एप अनइन्स्टल नगर्न आग्रह गरिएको छ।

मेटा कम्पनीले समस्या समाधानका लागि प्राविधिक टोली परिचालन गरेको बताइएको छ। केही क्षेत्रमा सेवा पूर्ण रूपमा सुचारु भइसकेको भए पनि सबै प्रयोगकर्ताका लागि सामान्य अवस्थामा फर्किन अझै केही समय लाग्न सक्ने अनुमान गरिएको छ।