भारतीय चर्चित गायिका श्रेया घोषाल ले अकल्याण्डमा शनिबार आफ्नो बहुप्रतीक्षित प्रस्तुति दिन लागेकी छन्। उनको कार्यक्रम अकल्याण्डस्थित द ट्रस्ट्स एरिना मा साँझ ६:३० बजेदेखि सुरु हुनेछ।
श्रेया घोषाल अन्तिम पटक सन् २०२४ मा अकल्याण्डमा प्रस्तुति दिन आएकी थिइन्। करिब दुई वर्षपछि उनी पुनः न्युजिल्याण्ड फर्किन लागेकी हुन्, जसलाई यहाँको भारतीय तथा दक्षिण एसियाली समुदायले विशेष उत्साहका साथ प्रतीक्षा गरिरहेको छ।
दुई दशकभन्दा लामो सांगीतिक यात्रामा बलिउडका सयौँ लोकप्रिय गीत गाएकी श्रेयाले यसपटक पनि आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। आयोजकका अनुसार कार्यक्रमका लागि टिकट बिक्री उत्साहजनक रहेको छ र दर्शकको उल्लेखनीय सहभागिता रहने अनुमान गरिएको छ।
अकल्याण्डको कार्यक्रमपछि श्रेया आफ्नो अस्ट्रेलिया भ्रमणमा जानेछिन्। उनको “द अनस्टपेबल टुर” अन्तर्गत जुन २५ मा पर्थ, जुन २७ मा सिड्नी र जुन २८ मा मेलबर्न मा समेत प्रस्तुति तय गरिएको छ।
न्युजिल्याण्डमा रहेका संगीतप्रेमीहरूका लागि श्रेया घोषालको यो प्रस्तुति यस वर्षकै सबैभन्दा ठूलो बलिउड सांगीतिक कार्यक्रममध्ये एक मानिएको छ।


