न्युजिल्याण्ड सरकारले अस्ट्रेलिया र फिजीबीच हालै भएको ‘ओसन अफ पिस एलायन्स’ (Ocean of Peace Alliance) रक्षा गठबन्धनमा सहभागी हुने सम्भावनाबारे औपचारिक रूपमा अध्ययन र छलफल गर्ने भएको छ।
प्रधानमन्त्री क्रिस्टोफर लक्सनले न्युजिल्याण्डले अस्ट्रेलिया र फिजीसँग लामो समयदेखि क्षेत्रीय सुरक्षा र शान्तिका विषयमा सहकार्य गर्दै आएको उल्लेख गर्दै उक्त गठबन्धनमा सहभागी हुने विषय स्वाभाविक भएको बताए। न्युजिल्याण्ड सरकारले अब अस्ट्रेलिया र फिजीसँग सदस्यता सम्भावनाबारे औपचारिक छलफल अघि बढाउनेछ। यद्यपि, गठबन्धनमा आबद्ध हुने अन्तिम निर्णय भने मन्त्रिपरिषद्ले गर्नेछ।
अस्ट्रेलिया र फिजीले सोमबार फिजीमा ‘म्युचुअल डिफेन्स ट्रिटी’ (पारस्परिक रक्षा सन्धि) मा हस्ताक्षर गरेका थिए। उक्त सन्धिअनुसार कुनै सदस्य राष्ट्रमाथि साझा सुरक्षा चुनौती आएमा दुवै देशले परामर्श गर्दै आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएका छन्। भविष्यमा अस्ट्रेलिया र फिजीको सहमतिमा अन्य प्रशान्त राष्ट्रहरू पनि यस गठबन्धनमा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।


